संस्कृति संरक्षणका लागि पञ्चेबाजा वितरण

  चैत २६, २०७८

स्याङ्जा, चैत २६: पछिल्लो समय लोप हुँदै गइरहेको परम्परागत पञ्चेबाजा संरक्षणका लागि आँधीखोला गाउँपालिकाले पञ्चेबाजा वितरण गरेको छ । विभिन्न शुभ कार्यमा बजाइने बाजा लोप हुने अवस्थामा पुगेपछि परम्परासँगै संस्कृति संरक्षणका लागि शुक्रबार पञ्चेबाजा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष सुधीरकुमार पौडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “परम्परा र चालचलन हराउँदै गएमा हाम्रो संस्कृति मासिन्छ त्यसैले संस्कृति संरक्षणका लागि पञ्चेबाजा वितरण गरेका हाँै । संस्कृति र परम्परा संरक्षण गर्दै नयाँपुस्तामा हस्तान्तरण गर्नु हामी सबैको दायित्व हो ।” पञ्चेबाजा लोप हुन नदिन चालू आर्थिक वर्षमा विनियोजन गरिएको रु आठ लाख बजेटबाट खरिद गरिएका बाजा विभिन्न वडाका पञ्चेबाजा समूहलाई हस्तान्तरण गरिएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत रोशन लामिछानेले बताउनुभयो ।

बाजा पाएपछि आँधीखोला–५स्थित अरिङ्गालले बाजा समूहका अध्यक्ष ठाकुर परियारले भन्नुभयो, “धेरै वर्ष पहिले किनेका पुराना बाजालाई मर्मत गरेर चलाउने गरेका थियौँ नयाँ बाजा महँगो पर्ने भएकाले किन्न सक्ने अवस्था थिएन गाउँपालिकाले बाजा वितरण गरेकामा आज धेरै खुसी लागेको छ । पञ्चेबाजा बजाउँदै आएका पालिकाका छ वटै वडाका आठ बाजा समूहलाई नरसिंह, सनही, दमाहा, ढोलकी, ट्याम्को र एउटा झ्याली वितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया