पर्यटन प्रवद्र्धन गर्न धनगढीमा ‘फारवेस्ट ट्राभल मार्ट’

  चैत २५, २०७८

कैलाली, चैत २५ : सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले धनगढीमा आजदेखि ‘फारवेस्ट ट्राभल मार्ट’ सुरु भएको छ । नेपाल पर्यटन बोर्डको प्रवद्र्धनात्मक सहयोग तथा धनगढी उपमहानगरपालिका र नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाटा) सुदूरपश्चिम प्रदेशको आयोजनामा सुरु भएको फारवेस्ट ट्राभल मार्टको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा उहाँले धनगढीमा पर्यटन बोर्डको कार्यालय स्थापना गरेर काम थालेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सुदूरपश्चिम प्रदेशमा भएका हरेक पर्यटकीय गन्तव्यस्थलबारे पर्यटकलाई जानकारी गराइनेछ ।” चाँडै नै कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा टुरिज्म सेन्टर सुरु गरिने बताउनुभयो । मन्त्री आलेले टीकापुर विमानस्थल, दार्चुलाको गोकुलेश्वर विमानस्थल, अछामको कमलबजारस्थित विमानस्थललगायतलाई पक्की बनाउन बजेटको व्यवस्थापन गरिएको बताउनुभयो ।

कार्यक्रमका संयोजक मायाप्रकाश भट्टले प्रचारप्रसार गरी बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । मार्ट यही चैत २७ गतेसम्म सञ्चालन हुनेछ ।

तपाईको प्रतिक्रिया