आर्थिक अभावले उपचार गर्न नसकेपछि सात वर्षदेखि खोरमा

  चैत २३, २०७८

भोजपुर, चैत २३ : भोजपुरमा एक परिवारले आफ्नै सन्तानलाई काठको खोरमा राखेका छन् भोजपुरको साल्पासिछो गाउँपालिका–२ का ३३ वर्षीय डेगराज चौहानलाई विगत सात वर्षदेखि र ३७ वर्षीय डम्वर चौहानलाई दुई वर्षदेखि घरभन्दा पर बनाइएको खोरमा राख्न थालिएको हो । मानसिक सन्तुलन गुमेका उनीहरुको उपचार गर्न नसकेपछि परिवारले घरभन्दा पर बनाइएको खोरमा राख्न थालिएको छ ।

आर्थिक अभावका कारण उपचार गर्न नसकेपछि दुबै छोरालाई खोरमा राख्नुपरेको बुबा छत्रबहादुर चौहानले बताउनुभयो । छोराको अवस्थाले आफूलाई विक्षिप्त बनाएको उहाँको भनाइ छ । छोरालाई खोरमा थुन्नुको विकल्प नभएको बताउँदै उहाँले भन्नुभयो, “आर्थिक अवस्था कमजोर भएकाले छोरालाई पेटभरि खुवाउनसमेत नसक्ने अवस्था छ ।” अभावको पिल्सिएका चौहान परिवार यतिबेला सहयोगको अपेक्षामा छन् ।

“आर्थिक अवस्था कमजोर छ । उपचार गर्ने पैसा छैन । कमाएर ल्याउने छोराहरुमा मानसिक रोग छ । उनीहरुलाई सम्हालेर राख्न नै समस्या छ । खोरमा राखेन भने अनेक उपद्रो गर्छन्”, उहाँले भन्नुभयो, “आफ्ना छोरा हुन्, माया त लाग्छ नि तर पनि पशु झैँ खोरमा राख्नु परेको अवस्था छ ।” उनीहरुलाई घरको सिकुवामा काठको खोर बनाएर राखिएको छ । छोराहरुलाई खोरमा राख्नु पर्दा आफूलाई धेरै पीडा हुने बुबा छत्रबहादुरको भनाइ छ ।

“उपचारका लागि थुप्रै अस्पताल डुलाएँ केही सीप लागेन”, उहाँले भन्नुभयो, “घरको आर्थिक अवस्था कमजोर छ । उपचारमै पैसा सकियो । अहिले छोरालाई फेर्ने कपडा समेत छैन । एउटै कपडामा महिनौ बिताउँछ ।” उपचारका लागि कोसिस गर्दागर्दै भएको केही सम्पत्ति पनि सकियो । अब उनीहरुलाई खोरमा थुनेर टुलुटुलु हेर्नुको विकल्प नभएको बुबा चौहानको भनाइ छ । सरोकारवाला पक्षले उपचारका लागि सहयोग गरी दिन्छन् कि भन्ने आशा छ, उहाँले भन्नुभयो । काठमाडाँैमा रहेको पाटन अस्पतालमा उपचार गराएको भए पनि रकम अभाव भएपछि उनीहरुलाई घरमा ल्याएर राखेको बुबा चौहानले बताउनुभयो । उनीहरुलाई नियमित रुपमा औषधि खुवाउन नसकेका कारण झनै समस्या भएको उहाँको भनाइ छ ।

लामो समयदेखि मानसिक रोगले भेटेपछि परिवारमा पीडा थपिएको उहाँले बताउनुभयो । उनीहरुलाई खोरमा थुनेर नराखे परिवारका सदस्य तथा बटुवालाई नै कुटपिट गर्ने, अपशब्द बोल्ने, बाहिर कुद्ने, मानिसलाई चिथोर्ने, बरबराउनेलगायत क्रियाकलाप देखाउने गरेको बुबा चौहानले बताउनुभयो । परिवारमा भएका तीन भाइ छोरामध्ये जेठो र कान्छो छोरालाई मानसिक समस्या भएको उहाँले बताउनुभयो । माइलो छोरा भने छुट्टिएर गएकाले अहिले परिवारभन्दा बाहिर बस्दै आएको उहाँले बताउनुभयो । मानसिक समस्या भएका कारण व्यक्तिगत सरसफाइ लगायतका कुरामा अरूको सहायता आवश्यक पर्ने भए पनि राज्यले अपाङ्गता परिचयपत्रसमेत नदिएको बुबा चौहानको दुःखेसो छ ।

साल्पासिलिछो गाउँपालिका उपाध्यक्ष धनमाया राईले आर्थिक अभावमा उपचारबाट वञ्चित भएका चौहान दाजुभाइको पहिचान भएकाले अब चाँडै अपाङ्गता परिचयपत्र बनाएर सरकारले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँहरुको अवस्थाका बारेमा हामीलाई जानकारी भएपछि आवश्यक सहयोगमा जुटेका छौँ । उनीहरुलाई राज्यबाट पाउने सुविधा दिलाउन प्रक्रिया अघि बढाएका छौँ ।”

तपाईको प्रतिक्रिया