अबको दश वर्षमा नेपाललाई धनी देश बनाउन सम्भव छ : मन्त्री कार्की

  चैत २२, २०७८

काठमाडौं, चैत २२ : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको विविधताको सम्मान गर्दै जातीय सदभाव कायम गरी अवको दश वर्षमा नेपाललाई समृद्ध बनाउन सकिने बताउनुभएको छ । नेपाल प्रेस युनियनद्वारा मंगलबार यहाँ आयोजित सम्मान तथा बधाई अर्पण कार्यक्रममा मन्त्री कार्कीले सो कुरा बताउनुभयो ।

“अवको दश वर्षमा नेपाललाई धनी देश र धनी नेपाली बनाउन सम्भव छ, त्यसकालागि सबैले आफ्नो ठाउँबाट जिम्मेवारी वहन गर्नुपर्छ” उहाँले भन्नुभयो । नेपाललाई आर्थिक रुपले समृद्ध बनाउन अनेकन चुनौति भएपनि असम्भव नरहेको उहाँले प्रष्ट पार्नुभयो । सामाजिक सदभाव र राष्ट्रिय एकता कायम भएमा दश वर्षमा नेपालको आर्थिक गति फेर्न सम्भव रहेको उहाँले चर्चा गर्नुभयो ।

मुलुकमा भएका आजसम्मको परिवर्तनमा नेपाली प्रेसको महत्वपूर्ण भूमिका रहेकाले मुलुकले नेपाली मिडियाको उच्च मूल्याङ्कन गरेको र भविष्यमा पनि गर्ने बताउनुभयो । आगामी दिनमा पनि मुलुकको आर्थिक समृद्धिमा मिडियाको महत्वपूर्ण भूमिका रहने उहाँले विश्वास व्यक्त गर्नुभयो । सूचना प्रविधिको क्षेत्रमा अनेक सम्भावना भएपनि चुनौति पनि सँगसँगै विद्यमान रहेकाले सबैको सहकार्य र हातेमालोले समस्या समाधानमा कठिनाई नरहेको उहाँले बताउनुभयो ।

सञ्चार क्षेत्रमा रहेका समस्या समाधानका लागि सबै पक्षसँग छलफल र संवादकानिम्ति सरकार जहिले तयार रहेको बताउनुहुँदै मन्त्री कार्कीले भन्नुभयो, “मिडियामा देखिएको चुनौति सबै मिलेर समाधान गरौं, सरकार त्यसमा जहिले सहकार्य र सहयोग गर्न तयार छ ।” सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री कार्कीले नवनिर्वाचित फोनिजका पदाधिकारी तथा सदस्यहरुलाई खादा लगाएर बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

सोहीअनुसार सञ्चारिका समूह नेपालका नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई पनि मन्त्री कार्कीले खादा लगाएर बधाई दिनुहुँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो । आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) ले उठाएको माग सम्बोधनका लागि फोनिज पदाधिकारीसँग मन्त्रालयमै छलफलका लागि उहाँले सो अवसरमा आमन्त्रण गर्नुभयो । सोहीअनुसार महिला पत्रकारको समस्या समाधानका लागि पनि छलफलमा आउन उहाँले सञ्चारिका समूहका पदाधिकारीलाई निमन्त्रणा दिनुभयो ।

प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले पत्रकार विरोधी कुनै पनि ऐन नियमको वर्खिलापमा प्रेस युनियन रहेकाले सरकारले त्यसमा ध्यान दिनुपर्ने बताउनुभयो । नेपाली मिडियालाई जिम्मेवार र अनुशासित बनाउनमा युनियनले भूमिका निर्वाह गर्न तयार रहेको उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजंग शाह, फोनिजका अध्यक्ष गजुरधन राई, सञ्चारिका समूहका अध्यक्ष विमला तुम्खेवा, गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरी, नेपाल पत्रकार महासंघका उपाध्यक्ष बाला अधिकारी, अकोरावका अध्यक्ष अर्जुन गिरी, नेपाल प्रेस युनियनका कोषाध्यक्ष सरोज अधिकारीले नेपाली प्रेसको अभिव्यक्ति स्वतन्त्रताका लागि सरकार जहिले सचेत हुनुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया