६ वर्षपछि दार्चुलाको छाङरुस्थित सीमा प्रशासन कार्यालयको सेवा सुरु

  चैत २२, २०७८

दार्चुला, चैत २२ : व्यास गाउँपालिका–१ छाङरुस्थित सीमा प्रशासन कार्यालयको सेवा दार्चुला सदरमुकाम खलंगास्थित तिङ्करबाट सुरु गरिएको छ। व्यास क्षेत्रका जनतालाई सेवा दिने उद्देश्यले २०३४ सालमा स्थापना गरिएको सीमा प्रशासन कार्यालयमा विगत छ वर्षदेखि कर्मचारी अभावमा जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट सेवा प्रवाह भइरहेको थियो।

व्याँसी सौँका समुदायले कुञ्चा सरेपछि वैशाखदेखि छाङरुस्थित कार्यालयबाटसमेत सेवा दिने गरेर अहिले खलंगाबाटै सीमा प्रशासन कार्यालयको काम भइरहेको कार्यालय प्रमुख एवम् शाखा अधिकृत मोहनसिंह धामीले जानकारी दिनुभयो।

खलंगास्थित कार्यालयमा छ जना कर्मचारी कार्यरत छन्। एक जना शाखा अधिकृत, एक जना नायब सुब्बा, एक जना खरिदार, एक सह लेखा पाल (सलेप) र दुई जना कार्यालय सहयोगी गरी सीमा प्रशासन कार्यालयमा छ जनाको दरबन्दी रहेको शाखा अधिकृत धामीले बताउनुभयो।

सोमबारदेखि खलंगाबाट सेवा प्रवाह सुरु गरिएको छ। कार्यालय सञ्चालनमा आएको पहिलो दिन सात जनाले पास लिएका छन्। अहिले छाङ्रु र तिङ्करका सौँका समुदाय खलंगामा बसोबास गरिरहेका छन्’, शाखा अधिकृत धामीले भन्नुभयो, ‘उनीहरुले बसाइँ सरेसँगै छाङरु र खलंगा दुबै ठाउँबाट सेवा प्रवाह हुन्छ।’

विगत लामो समयदेखि सीमा प्रशासन कार्यालय बन्द रहेको भन्दै स्थानीयले गुनासो गर्ने गरेका थिए। वैशाखपछि व्यासको छाङरुबाटै सेवा प्रवाह हुने भएपछि स्थानीय खुसी भएका छन्। विगत छ वर्षसम्म सीमा प्रशासन कार्यालयमा ताला लागेको थियो। उक्त घरको भाडा भने तिर्ने गरिएको थियो।

भारतले अतिक्रमण गरेको कालापानी भन्दा झण्डै १३ किलोमिटर तल छाङरुमा रहेको सीमा प्रशासन कार्यालयबाट अब नियमित सेवा प्रवाह हुने शाखा अधिकृत धामीको भनाइ छ। ‘व्यासवासीले पटकपटक सीमा प्रशासन सञ्चालनमा आउनुपर्ने माग गरे पनि दार्चुला सदरमुकामबाट कर्मचारी गएका थिएनन’, स्थानीय पार्वती तिकंरीले भन्नुभयो, ‘कार्यालय सञ्चालनमा आएको खबर सुनेपछि निकै खुसी लागेको छ।’

सरकारले गत वर्षदेखि व्यासमा सुरक्षा उपस्थिति बढाएको छ। सीमा प्रशासन कार्यालयसमेत सञ्चालनमा आउने भएपछि स्थानीयलाई सहज हुनेभएको छ। चिसो छल्न स्थानीय अहिले बेँसी झरेको कारण सीमा कार्यालयमा कोही कर्मचारी नरहेको र कुञ्चा लगत्तै कर्मचारी कार्यालयमा हाजिर हुने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।

बाहिरका मानिसलाई पास जारी गर्नुपर्ने र व्यास क्षेत्रका नागरिकसमेत खलंगा क्षेत्रमा बसोवास गर्ने भएकाले छाङरुको सीमा प्रशासनको कामकाज खलंगाबाट समेत निरन्तर हुने शाखा अधिकृत धामीले बताउनुभयो। छाङरुमै गएर सेवा दिँदा खलंगाका स्थानीयवासीलाइ छाङरु पुगेर सेवा लिन कठिन हुने भएकोले दुबै ठाउँबाट सेवा प्रवाह गर्न लागिएको उहाँको भनाइ छ।

तपाईको प्रतिक्रिया