बिजुक्छेँद्वारा तीनदिने पुस्तक प्रर्दशनीको उद्घाटन

  चैत २१, २०७८

भक्तपुर, चैत २१ : भक्तपुरको कमलविनायकस्थित लामगालमा तीनदिने पुस्तक प्रदर्शनी आजदेखि सुरु भएको छ । आरम्भ नेपालले आयोजना गरेको पुस्तक प्रदर्शनीको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले उद्घाटन गर्नुभयो ।

कार्यक्रममा उहाँले भक्तपुरका कवि एवं कार्टुनिष्ट दामोदर सुवालको ‘सय कार्टुन’ नामक कार्टुन सङ्ग्रहको विमोचन गर्नुभयो । प्रदर्शनीमा अध्यक्ष बिजुक्छेंँले पछिल्ला दिनहरुमा पुस्तक अध्ययनमा ह्रास आइरहेको भन्दै यस खालको पुस्तक प्रदर्शनीले नयाँ पुस्तालाई पुस्तक अध्ययन गर्न अभिप्रेरित गर्ने बताउनुभयो । उहाँले पठन संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिँदै पुस्तकसम्बन्धी छलफल, अन्तरक्रिया र समीक्षात्मक कार्यक्रमलाई बढावा दिनुपर्ने औँल्याउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँले देश र जनताको प्राथमिकता भ्यू टावर नभई शिक्षा र स्वास्थ्य हुनुपर्नेमा जोड दिँदै पुस्तक प्रदर्शनीले मानिसमा ज्ञानको भण्डारको विकास गर्ने बताउनुभयो ।

त्यस अवसरमा वरिष्ठ कार्टुनिष्ट अविन श्रेष्ठ र कार्टुनिष्ट दामोदर सुवालले कार्टुनिष्टहरु सधैँ प्रतिपक्षी हुने बताउँदै नेपाली राजनीतिका विभिन्न विषयलाई कार्टुनमार्फत सचेत गर्न आवश्यक रहेको औँल्याउनुभयो । आरम्भ नेपालका अध्यक्ष बालकृष्ण बनमालाले आगामी २३ गतेसम्म पुस्तक प्रर्दशनी हुने बताउनुभयो ।

तपाईको प्रतिक्रिया