वन्यजन्तुबाट भएको क्षतिमा एक करोड ७८ लाख राहत वितरण

  चैत २१, २०७८

चितवन, चैत २१ : चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा रु एक करोड ७८ लाख २३ हजार ८५० राहत वितरण गरेको छ । वन्यजन्तुबाट भएको क्षतिस्वरूप निकुञ्जले राहत वितरण गरेको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म ५६९ घटना भएका थिए । ती घटनामा परेकाहरुलाई राहत वितरण गरिएको हो ।

तिवारीका अनुसार वन्यजन्तुको आक्रमणमा परी मृत्यु भएका ११ जनाको परिवारलाई रु एक करोड १० लाख वितरण गरिएको छ । प्रतिपरिवार रु १० लाखका दरले राहत वितरण गरिएको हो । वन्यजन्तुको आक्रमणमा परी सामान्य घाइते भएका १९ जनालाई रु तीन लाख ६३ हजार ७९४ र सख्त घाइते २० जनालाई रु २४ लाख ८१ हजार ५५६ राहत वितरण गरिएको छ ।

यस्तै पशुधन क्षतिका ११२ घटनामा रु १३ लाख ७० हजार ३२०, भण्डारण गरेको अन्नको क्षतिका सात घटनामा रु ६० हजार ८८० र घरगोठको क्षतिका २६ घटनामा रु एक लाख ९२ हजार ३०० राहत वितरण गरिएको छ । यस्तै वन्यजन्तुले खेतबारीमै रहेको अन्नबाली क्षति पुर्‍ययाएका ३७४ घटनामा रु २३ लाख ५५ हजार राहत वितरण गरिएको तिवारीले जानकारी दिनुभयो ।

निकुञ्जभित्रका वन्यजन्तुको आक्रमणबाट मृत्यु भएमा पीडित परिवारलाई रु १० लाख दिने निकुञ्जको निर्देशिकामा उल्लेख छ । त्यस्तै सामान्य घाइतेको अवस्थामा रु २० हजार, गम्भीर घाइतेको न्यूनतम रु दुई लाख वा सरकारी अस्पतालको सिफारिसमा घाइतेको उपचारमा लागेको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने गर्दछ ।

जङ्गली जनावरले अन्नबालीमा क्षति पुर्‍ययाएमा बढीमा रु १० हजार, घरगोठ भत्काएमा रु १० हजार र पशुधनको क्षति गरेमा रु ३० हजारसम्म राहत रकम उपलब्ध गराउने निर्देशिकामा उल्लेख छ । सूचना अधिकारी तिवारीले पहिले–पहिले राहत रकम वितरणमा ढिलाइ हुने भए पनि पछिल्ला वर्षमा तत्काल राहत रकम वितरण गर्न थालिएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया