ठेकेदारको लापरवाहीले उपत्यकाको फोहोर उठ्न सकेन

  चैत २१, २०७८

काठमाडौं, चैत २१ : ठेकेदारले सडक निर्माण गर्ने प्रतिबद्धता पूरा गर्न नसक्दा स्थानीयबासी आन्दोलित भएका कारण काठमाडौं उपत्यकाको फोहोर तीन दिनदेखि उठ्न सकेको छैन । सधैँको समस्याको रुपमा रहेको फोहोर व्यवस्थापन फेरि पासाङ ल्हामु राजमार्ग मर्मत सुधार नहुँदा ढुवानी गर्न सडक अवरुद्ध हुँदा फोहोर सङ्कलन हुन नसकेको काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो ।

स्थानीयवासीसँगै ठेकेदारले चैत १५ गतेभित्र सडक कालोपत्रे सम्पन्न गर्ने भनी प्रतिबद्धता जनाए पनि काम पूरा नगर्दा सडक अवरुद्ध भएर फोहोर ढुवानी रोकिएको प्रवक्ता डङ्गोलले जानकारी दिनुभयो । तत्काल समस्या समधान गरी फोहोर व्यवस्थापनमा सहयोग गर्न स्थानीयवासी र ठेकेदारसँग महानगरपालिकाले अनुरोध गरिसकेको उहाँले जानकारी दिनुभयो ।

१६ वर्षसम्म पनि बन्चरेडाँडा ल्यान्डफिल साइट नबन्दा काठमाडौं उपत्यकामा दैनिक सङ्कलन हुने १२ सय टन फोहोर व्यवस्थापनमा सधैँ सास्ती हुँदै आए पनि विभिन्न समस्याका कारण फेरी फोहोर सङ्कलनमा समस्या हुँदा उपत्यकावासीले सास्ती खेप्नुपरेको छ । नियमित फोहोर ढुवानी र सङ्कलनमा कुनै समस्या नभएको महानगरले जनाएको छ ।

राजमार्गदेखि सिसडोलसम्म पुग्ने सडकमा कुनै समस्या नभएकाले स्थानीयवासीले सडक अवरुद्ध खुला गरे तत्काल फोहोर सङ्कलन हुने महानगरले जनाएको छ । फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थल भन्दै सरकारले २०५२ मै बन्चरेडाँडाको पहिचान गरेको थियो । त्यही अनुसार सडक निर्माणका लागि २०५७ देखि नै ट्रेक खोल्ने काम पनि थालेको थियो तर सडक निर्माणकार्य अझै सकिएको छैन । सरकारले बन्चरेडाँडामा अत्याधुनिक ल्यान्डफिल साइट बनाउने निर्णय गरे पनि पूरा हुनसकेको छैन ।

यसका लागि तत्कालीन स्थानीय विकास मन्त्रालयअन्तर्गतको फोहोरमैला व्यवस्थापन तथा प्राविधिक स्रोत परिचालन केन्द्रले जाइकासँग समन्वय गरेको थियो । बन्चरेडाँडामा ल्यान्डफिल साइट निर्माण गर्न तीन वर्ष लाग्ने भएपछि त्यतिन्जेल उपत्यकाको फोहोर सिसडोलमा व्यवस्थापन गर्न थालिएको थियो । त्यसका लागि सिसडोलमा चार सय २० रोपनी जग्गा अधिग्रहण गरी २०६२ देखि फोहोर त्यहीँ फालिँदै आएको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया