सिमलटारमा कुवाको पानी खानुपर्ने बाध्यता हट्यो

  चैत २१, २०७८

तनहुँ, चैत २१ : बन्दीपुर–२ तनहुँको सिमलटारस्थित खानेपानी योजना चार वर्षपछि सम्पन्न भएको छ । योजना सम्पन्न भएपछि त्यस क्षेत्रका बासिन्दाले कुवाको पानी खानुपर्ने बाध्यता हटेको छ । सङ्घीय सरकारको रु एक करोड ५० लाख ७० हजारको लागतमा योजना सम्पन्न भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष रोजन बानियाँले जानकारी दिनुभयो । योजनाबाट २२५ परिवार लाभान्वित भएका छन् ।

सोही वडाको गिदारीबाट लिफ्ट गरी करिब एक किलोमिटर दूरीबाट पानी ल्याइएको हो । योजनाबाट सिमलटार, चामुण्डा, धारापानी र थुम्कीका बासिन्दा लाभान्वित भएका छन् । कोरोना सङ्क्रमणका कारण निर्धारित समयभन्दा ढिला योजना सम्पन्न भएको बानियाँले बताउनुभयो ।

घरघरमा पानी उपलब्ध भएपछि स्थानीयवासी खुसी भएका छन् । समितिका सचिव रत्नबहादुर कार्कीका अनुसार यसअघि टाढाबाट पानी बोक्नुपर्ने बाध्यता थियो । गाउँमा ८५ धाराबाट पानी वितरण गरिएको छ । “पानी लिन कुवा धाउनु पर्ने समस्याको अन्त्य भएको छ”, स्थानीय शेरबहादुर नेपालीले भन्नुभयो । पानी पुगेपछि तरकारी र फलफूल खेती गर्नसमेत सहज भएको छ । उक्त योजनाको आइतबार एक कार्यक्रमबीच नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले उद्घाटन गर्नुभयो ।

तपाईको प्रतिक्रिया