‘शिखरखजुराव’ शैलीको हनुमान मन्दिर

  चैत २०, २०७८

नवलपुर, चैत २० : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–९ स्थित थुम्सीमा ‘शिखरखजुराव’ शैलीको हनुमान मन्दिर निर्माण गरिएको छ । करिब रु तीन करोड लागतमा हनुमान मन्दिर निर्माण गरिएको हो ।

सो मन्दिर ४८ फुट लम्बाइ, ४२ फुट चौडाइ र ६३ फुट उचाइ रहेको हनुमान मन्दिर समिति चक्रघाटका अध्यक्ष टीकाराम सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार भूकम्प प्रतिरोधी आधुनिक शैलीमा मन्दिर निर्माण गरिएको छ । यस मन्दिरमा भूमिगत, गर्भगृह र शिखर तह गरी तीन खण्ड छन् ।

सङ्कटमोचन श्रीहनुमानको दिव्यमूर्ति, कलाकारिताले परिपूर्ण मन्दिरको बाहिरी पाटो, शिखरखजुराव शैलीको गुम्बज (गजुर), काष्ठकलाका कलात्मक झ्यालढोका, रामदरबार, स–साना गुम्बज आकारका मार्बल रेलिङ लगाइएको छ । यस मन्दिरबाट धार्मिक, आध्यात्मिक र पर्यटकीय क्षेत्रका रूपमा विकसित गरी समग्र गैँडाकोटकै धार्मिक महत्वलाई प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने गैँडाकोट–९ का वडाध्यक्ष प्रेम सापकोटाले बताउनुभयो । नेपालकै बीच भागमा रहेको यस मन्दिरको ऐतिहासिककालदेखि नै धार्मिक महत्व छ ।

यस चक्रघाटबाट श्रीहरि भगवान् विष्णुले गोहीद्वारा आक्रमणमा परेको गजराजको प्रार्थनाबाट प्रसन्न भई आफ्नो सुदर्शन चक्रको प्रयोगबाट गोहीको शिरछेदन गरी गजराजलाई मोक्ष प्रदान गरेको धर्मग्रन्थमा उल्लेख छ । यस ठाउँलाई विसं २०४२ मा फलाहारी बाबा १०८ स्वामी शुकदेवानन्द सरस्वतीले तपस्यास्थल बनाउनुभएको जनाइएको छ ।

धार्मिक महत्व बोकेको चक्रघाटमा सङ्घीय, प्रदेश र स्थानीय सरकारले मन्दिर निर्माण गर्न सहयोग गरेका छन् । मन्दिर निर्माणका लागि गैँडाकोट नगरपालिकाको वडा र नगरस्तरीय बजेटबाट रु ३४ लाख, गण्डकी प्रदेश सरकारको रु २० लाख, सङ्घीय सरकारको सांसद कोषबाट रु १० लाख प्राप्त भएको छ । त्यस्तै माडवाडी सेवा समिति नारायणगढले रु २१ लाख, पवनकुमार अग्र वालले रु ४० लाख, नारायणी सामुदायिक वनले रु सात लाख सहयोग गरेका छन् । अन्य दाताबाट रु एक करोड ६४ लाख सहयोग प्रदान गर्नुभएको हनुमान मन्दिर समितिले जनाएको छ ।

यसैबीच हनुमान मन्दिरले ज्ञान महयज्ञ गर्ने भएको छ । यही २७ गतेदेखि आगामी वैशाख ३ गतेसम्म महायज्ञ सञ्चालन हुनेछ । स्नानघाट, धर्मशाला निर्माण र मन्दिर सञ्चालनका लागि महायज्ञ गर्न लागिएको गैँडाकोटमा शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । पूर्वपश्चिम राजमार्गको मध्यभागमा पर्ने चक्रघाटमा १०० जना क्षमताको धर्मशाला निर्माण गर्ने मन्दिरको लक्ष्य छ । त्यस्तै स्नानघाटलाई पनि व्यवस्थित गर्ने योजना बनाइएको छ । वैदिक सनातन धर्म–संस्कृतिको संरक्षण गर्दै गैँडाकोटको धार्मिक पर्यटनको अभिवृद्धि गर्ने महायज्ञको उद्देश्य रहेको वडाध्यक्ष सापकोटाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया