पशुपतिनाथको शैलीमा अकला मन्दिर पुनः निर्माण

  चैत १९, २०७८

दमौली, चैत १९ : तनहुँको म्याग्दे गाउँपालिका–३ किल्चोकस्थित धार्मिक महत्व बोकेको अकलादेवी मन्दिर पुनर्निर्माण सकिएको छ ।

पशुपतिनाथ मन्दिरको शैलीमा अकलादेवी मन्दिरको पुनर्निर्माण गरिएको हो । विसं २०७६ वैशाख १६ गतेदेखि पुनर्निर्माण थालिएको मन्दिरको काम हालै सम्पन्न भएको मन्दिर निर्माण समितिका अध्यक्ष रामभक्त घिमिरेले जानकारी दिनुभयो । रु ८० लाखको लागतमा मन्दिर निर्माण भएको छ । मन्दिरमा तामाको छानो राखिएको छ । छानो राख्नका लागि मात्रै रु १२ लाख भन्दा बढी खर्च भएको घिमिरेले बताउनुभयो ।

यस ठाउँलाई धार्मिक पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्ने उद्देश्य सहित पूर्वाधार निर्माणको कामलाई पनि सुरु गरिएको छ । यहाँ शिवालय मन्दिर, मूल प्रवेशद्वार, वनभोजस्थल, हरित उद्यान, भजनकिर्तनको भवनका पूर्वाधार बनेका छन् ।

गण्डकी प्रदेश सरकार, म्याग्दे गाउँपालिका लगायतको सहयोगमा यहाँ पूर्वाधार निर्माणको काम गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राधिका पन्तले बताउनुभयो । मन्दिरलाई धार्मिक पर्यटनको केन्द्र बनाउने उद्देश्यसहित गुरुयोजना बनाइएको र गुरुयोजना बमोजिम नै मन्दिरको पुनःनिर्माण गरिएको बताइएको छ । मन्दिर पुनर्निर्माणका लागि समितिले महायज्ञ गरेर रु एक करोड सङ्कलन गरेको थियो ।

प्रशस्त सम्भावना भएर पनि प्रचारप्रसारको अभावमा यो मन्दिर ओझेलमा पर्दै आएको महशुस भएपछि सरोकारवाला निकायको सहयोगमा यस ठाउँको विकास र प्रचारप्रसारका लागि स्थानीयवासी जुटेका छन् । अकलादेवी खुशी भएको बेला मन्दिरभित्र रहेको घण्ट आफै हल्लिने र बज्ने गरेको स्थानीयवासीको भनाइ छ । देवी प्रशन्न भएको अवस्थामा रातिको समयमा घण्ट बज्ने गरेको स्थानीयवासी बताउँछन् ।

विसं २०४२ सालदेखि मन्दिरमा शङ्ख र घण्ट बजेको सुनिन थालेको स्थानीयवासी बताउँछन् । त्यो बेला तत्कालिन प्राज्ञ पण्डित गङ्गाधर घिमिरे लगायतले स्थानीयवासीले यस बारेमा जानकारी गराएपछि यो दैवीशक्ति हो यसको संरक्षणका लागि काम शुरु भएको थियो ।

विसं २०५५ सालमा मन्दिरमा योगी नरहरीनाथले ८५ औं कोटी होम लगाउनुभएको थियो । यस क्षेत्रमा धार्मिक शक्ति भएको कारणले नरहरीनाथले यहाँ कोटीहोम लगाउनुभएको थियो । अकला मन्दिरको बाहिर पुरानो आदिकालदेखिको सिंह र नन्दिनी अर्थात साढेको स्तम्भ छ । उक्त प्रतिमा निकै पुरानो रहेको अनुमान छ ।

मन्दिर नजिकै पञ्चवली दिने स्थान र हवनकुण्ड पनि छ । अकलादेवी मन्दिरको दक्षिण पश्चिममा रुद्रदेवीको मन्दिर छ । अकलादेवी र रुद्रदेवीको महिमाको लागि वर्षमा चार वटा रुद्री लगाउने गरिन्छ । यस ठाउँमा हरेक वर्ष वैशाख, साउन, कात्तिक र माघमा रुद्री लगाउने प्रचलन रहिआएको छ ।

तपाईको प्रतिक्रिया