नेपालको मौलिक संस्कृति प्रवद्र्धनका लागि बिबिसी मास्टर सेफको टोली नेपाल आउँदै

  चैत १९, २०७८

काठमाडौँ, चैत १९ : नेपालको मौलिक खाना, संस्कृति र गन्तव्य प्रवद्र्धनका लागि ‘बिबिसी मास्टर सेफ’ को टोली नेपाल आउने भएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएशन (पाटा) नेपाल च्याप्टरले कोभिड–१९ महामारीपछिको पर्यटन पुनरुत्थान अभियानअन्तर्गत ‘बिबिसी मास्टर सेफः द प्रोफेशनल २०२०’ का फइनालिस्टहरुलाई नेपाल ल्याउन लागेको हो । मौलिक संस्कृति र खानामार्फत गन्तव्यको प्रचारप्रसार गर्ने उद्देश्यले सो टोलीलाई नेपाल आमन्त्रण गरिएको पाटा नेपाल च्याप्टरले विज्ञप्तिमार्फत जनाएको छ ।

पाटा नेपालका अनुसारमास्टर सेफ टोली ७ अप्रिल २०२२ मा काठमाडौँ आइपुग्ने र नेपालमा १० दिनसम्म विभिन्न प्रचारात्मक गतिविधिमा संलग्न हुनेछ । सेफ सन्तोष साहका साथमा सेफ एलेक्स, सेफ बार्ट र सेफ फिलिपालगायतको टोली नेपाल आउने र यहाँका विभिन्न स्थानहरुमा पर्यटन प्रवद्र्धनमा सहभागी हुनेछन् ।

उक्त कार्यक्रमअन्तर्गत काठमाडौँमा ‘फाइनडाइनिङ’ कार्यक्रम, जनकपुरमा ‘मिथिला खाना तथा रेसिपी’ विषयमा कार्यक्रम र बर्दियामा थारू संस्कृति तथा खानासम्बन्धी प्रवद्र्धनात्मक कार्यक्रमसहित मास्टर सेफहरूद्वारा नेपालको खानाको लोभ र रहस्य पत्ता लगाउन वाइल्ड स्पाइसेस हन्टिङ कार्यक्रम आयोजना गरिनेछ ।

त्यसैगरी, सगरमाथा आधार शिविर कालापत्थर र नेपालको साहसिक पर्यटनको राजधानी पोखरामा समेत भ्रमण एवम् पर्यटन प्रवद्र्धनका कार्यक्रमसमेत रहेको छ । मास्टर सेफहरुले अप्रिल ११ मा काठमाडौँमा आयोजना हुने पाटा नेपालको ४५औँ वार्षिक साधारणसभाको औपचारिक समारोहमा पनि सहभागी हुनेछन् ।

पाटा नेपालद्वारा आयोजना गरिएको ‘मास्टर सेफ फाइनालिस्ट टुर टू नेपाल’ नामक यस कार्यक्रमलाई मुख्य प्रवद्र्धकका रुपमा नेपाल पर्यटन बोर्ड, अफिसियल एअरलाइन्स पार्टनरका रुपमा श्रीलङ्कन एअरलाइन्स, बैंकिङ पार्टनरका रुपमा नबिल बैंक र हेल्थ पार्टनरका रुपमा सिवेक हस्पिटलले सहयोग गरेका छन् ।

त्यसैगरी, बुद्ध एअर, समिट एअर, नाथम, केजिएच ग्रुप अफ होटेन्स, कम्युनिटी होमस्टे, गेट कलेज, ग्यालेक्सी टेलिभिजन, सनफ्लो सनफ्लावर आयल र हाइग्राउन्ड एडभेन्चर समेतले कार्यक्रममा सहयोग तथा सहकार्य गरेका छन् ।

पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूतिचन्द ठाकुरले बिबिसी मास्टर सेफका चर्चित सेलिब्रेटी सेफहरुलाई नेपाल भ्रमण गराई उनीहरुमार्फत गन्तव्यको प्रचारप्रसार तथा मौलिक खाना र संस्कृतिको प्रवद्र्धन गर्न पाटाद्वारा गरिएको यस पहलले महामारीपछिको पर्यटन पुनरुत्थान अभियानमा विशेष सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया