विपद् जोखिम न्यूनीकरण गर्न तीन तहबीच सहकार्य आवश्यक : मुख्यमन्त्री

  चैत १९, २०७८

कर्णाली, चैत १९ : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विपद् जोखिम न्यूनीकरणका लागि तीनै तहबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल सरकार गृह मन्त्रालयअन्तर्गत कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका–७ इत्राम सुर्खेतमा निर्माण भएको मानवीय सहायतास्थलको उदघाट्न गर्दै मुख्यमन्त्री शाहीले विपद् जोखिम न्यूनीकरणको पूर्वतयारीमा सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । “विपद्सँग सामना गर्न जनशक्ति परिचालन, उपकरणको उपलब्धता र पूर्वतयारी आवश्यक हुन्छ”, उहाँले भन्नुभयो, “त्यसका लागि तीन तहका सरकारबीचको समन्वय र सहकार्य नितान्त जरुरी छ ।”

मुख्यमन्त्री शाहीले विपद् जोखिमको प्रतिकार्य, उद्धार, राहतका लागि पूर्वतयारी र समयको सदुपयोग महत्वपूर्ण कुरो भएको जनाउनुभयो । यस्ता प्राकृतिक विपद्मा सरकार विकास साझेदारको सहयोग आवश्यक रहेको बताउँदै उहाँले बेलायत सरकार तथा विश्वखाद्य सङ्गठनको लामो समयदेखिको योगदानको प्रशंसा गर्नुभयो । कर्णालीमा पनि विपद्को उच्च जोखिम रहेकाले यसको पूर्वतयारी लाग्न हरेकले समय र महत्व दिएर काम गर्नुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हिमबहादुर शाहीले विपद् मानव जातिको सत्रु भएकाले त्यसको रोकथाम, न्यूनीकरण र नियन्त्रणमा साझा प्रयास आवश्यक छ भन्नुभयो । गृह मन्त्रालयले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निर्माण गरेको मानवीय सहायतास्थलमा बेलायत सरकार तथा विश्वखाद्य सङ्गठनको सहयोग गरेकाप्रति धन्यवाद व्यक्त गर्दै उक्त संरचनालाई ठूलो पूँजीकारुपमा ग्रहण गरिने जनाउनुभयो ।

प्रदेश सरकारका निमित्त प्रमुख सचिव आनन्द सारुले विपद् व्यवस्थापनमा राज्यको अभिभावकीय भूमिका हुनुपर्ने जनाउनुभयो । विश्वखाद्य सङ्गठनका कन्ट्री डाइरेक्टर रोबर्ट कास्काले लामो समयदेखि विपद् जोखिमको क्षेत्रमा सङ्गठनले काम गर्दै आएको र अब पनि कर्णालीमा समन्वय निरन्तर राख्ने जनाउनुभयो । गृह मन्त्रालय विपद् तथा द्वन्द्व शाखाका प्रमुख प्रदीपकुमार कोइरालाले सङ्घ, प्रदेश तथा स्थानीय तहमा विपद् व्यवस्थापन समितिको संरचना भएको बताउनुभयो ।

कर्णालीको विपद् जोखिमको अवस्थालाई ध्यानमा राखेर सुर्खेतमा आपत्कालीन सहयोगका लागि मानवीय सहायता केन्द्र राखिएको उहाँले जनाउनुभयो । उहाँले विपद्का सामग्री भण्डारणका लागि गोदाम घर निर्माण गरिएको र यो सातै प्रदेशमा नेपाल सरकारले व्यवस्थापन गरेको बताउनुभयो ।

उहाँले वीरेन्द्रनगर नगरपालिकाका प्रमुखलाई खुला क्षेत्र बचाइराख्न र विपद् कोषको व्यवस्थापन गर्न अनुरोध गर्नुभयो । सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले कर्णालीमा विपद् प्रतिकार्यका लागि आवश्यक उपकरण नहुँदा समस्या भएको जनाउँदै यसलाई जनशक्ति र उपकरणयुक्त बनाउनुपर्नेमा जोड दिनुभयो ।

विश्वखाद्य सङ्गठनका सञ्चार अधिकृत मोनिका उपाध्यायले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मानवीय सहायतास्थल करिब रु चार करोड लागनमा निर्माण भएको जनाउनुभयो ।

तपाईको प्रतिक्रिया