मनिराज बाङमय पुरस्कार वरिष्ठ साहित्यकार डा. भट्टराईलाई

  माघ ०४, २०७८

काठमाडौं, माघ ४ : वरिष्ठ साहित्यकार मनिराज जोशीको नामबाट स्थापित एक लाख रुपियाँ राशीको ‘मनिराज बाङ्मय पुरस्कार २०७७’ यस वर्ष वरिष्ठ साहित्यकार तथा समालोचक डा. तुलसी भट्टराईलाई प्रदान गरिने भएको छ ।

नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी, कैलालीद्वारा सञ्चालित सो पुरस्कार कोभिड संक्रमण न्यून भएमा निकट भविष्यमै प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष पदमराज जोशी ‘प्रभात’ले बताउनुभयो । पुरस्कारको राशी नगद एक लाख रुपियाँ र सम्मानपत्र रहेको उहाँले जानकारी दिनुभयो ।

२०७३ सालमा स्थापना भएको सो पुरस्कारबाट यसअघि राष्ट्रकवि माधव घिमिरे, पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, विराटनगरका साहित्यकार दधिराज सुवेदी पुरस्कृत भइसक्नुभएको अध्यक्ष जोशीले जानकारी दिनुभयो । यस वर्ष सो पुरस्कार डा. भट्टराईलाई काठमाडौंमै कार्यक्रम आयोजना गरी प्रदान गरिने उहाँले बताउनुभयो ।

नेपाली भाषा, साहित्य, कला र संस्कृतिको श्रीबृद्धिमा उल्लेखनीय योगदान दिनुहुने स्रष्टालाई हरेक वर्ष यो पुरस्कार प्रदान गरिदैआएको प्रतिष्ठानले जनाएको छ । यसअघि प्रतिष्ठानद्वारा घोषित पुरस्कार तथा सम्मान पनि सोही कार्यक्रममा प्रदान गरिने अध्यक्ष जोशीले जानकारी दिनुभयो ।

कैलालीको धनगढीमा रहेर नेपाली साहित्य तथा ज्योतिष विधामा सक्रिय रहनुभएका महाकाव्यकार मनिराज जोशीले नेपाली साहित्यको उत्थान र श्रीबृद्धि गर्नमा हौसला प्रदान होस् भनेर आफूले सो पुरस्कार स्थापना गरेको बताउनुभयो । नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिनुहुने स्रष्टालाई हरेक वर्ष सो पुरस्कार वितरण गरिदैआएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया