थप चार हजार ९६१ मा कोरोना संक्रमण, काठमाडौँ उपत्यकामा मात्रै तीन हजार ३४७

  माघ ०२, २०७८

काठमाडौँ, माघ २ : देशभर पछिल्लो २४ घण्टामा थप चार हजार ९६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या शनिबार देखिएको नयाँ सङ्क्रमितभन्दा ३२५ ले बढी हो । शनिबार देशभरमा चार हजार ६३६ नयाँ सङ्क्रमित पुष्टि भएको थियो ।

उपत्यकाका तीन जिल्लामा आज तीन हजार ३४७ नयाँ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा दुई हजार ५४५, ललितपुर ४७४ र भक्तपुरमा ३२८ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । नयाँ सङ्क्रमितमध्ये चार हजार ५३४ को पिसीआर र ४२७ को एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा १५ हजार १३१ जनाको नमूना परीक्षण गरिएको थियो । १२ हजार ५६२ जनाले पिसीआर र दुई हजार ५६९ जनाले एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो अवधिमा जम्मा परीक्षणमध्ये औषत सङ्क्रमणदर ३६ दशमलव एक प्रतिशत छ । यही अवधिमा ४३५ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् ।

कोभिडविरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा ५४ हजार ३१२ रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार ६८० रहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट तीन जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हाल भेन्टिलेटरमा रहनेको सङ्ख्या जम्मा २९ र आइसीयूमा १२२ जना रहेका छन् । होम आइसोलेशनमा २४ हजार ५८४, संस्थागत आइसोलेशनमा एक हजार ९६ र संस्थागत क्वारेन्टिनमा १२१ रहेका छन् ।

सरकारले आजदेखि अग्रपङ्तिमा रहेका नागरिकलाई बुष्टर डोज खोप सुरु गरिसकेको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बताउनुभयो । देशभरमा हाल लगाइरहेको सबै खोप प्रभावकारी र निःशुल्क रहेको उहाँले बताउनुभयो । खोपले गम्भीर स्वास्थ्य समस्याबाट बचाउने भन्दै उहाँले खोप लगाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “खोप लगाउने ठाउँमा स्वास्थ्यका मापदण्डको भने पालना गर्नुपर्छ ।”

सरकारले खोप कार्यक्रम विस्तारमा लागेको सहप्रवक्ता डा अधिकारीले बताउनुभयो । पुस मसान्तसम्म दुई तिहाइलाई खोप लगाउने लक्ष्य लिइएकामा बागमती र गण्डकी प्रदेशमा लक्ष्यानुसार लगाइसकिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पुस मसान्तसम्ममा दुई तिहाइलाई लगाउने लक्ष्य लिइएकामा ६१ प्रतिशतलाई लगाइएको छ ।”

तपाईको प्रतिक्रिया