पुसमै आँपको बोटमा फूल लाग्यो, विज्ञ भन्छन ‘जलवायुको असर’

  पुष १७, २०७८

इनरुवा, पुस १७ : सुनसरी सदरमुकाम इनरुवा ९ बबियामा यस वर्ष सियाराम यादव र सत्यनारायण यादवको आँपको बोटमा पुसमै फुल लागेको छ । त्यसबाट किसान अचम्मित भएका छन् । तर कृषि विज्ञहरुले जलवायुको असर भनेर भनेका छन् ।

एकाएक आँगनको आँपको बोटमा फुल लागेको देख्दा गाउँबासी अचम्मित परेको स्थानीयको भनाई छ । आँपसको फुल लागेको सुनाएपछि केहीले हाँसेर उडाएको कृषक सियाराम यादवले बताउनुभयो । ६० वर्षको उमेरमा पहिलो पटक पुसमै आँपमा फुल लागेको देखेर आफू पनि अचम्ममा परेको उहाँले बताउनुभयो ।

यादवकी ८३ वर्षिया आमा कुश्मी यादवले पनि आफ्नो जिवनमा पहिलो घटना भएको सुनाउनुभयो । आँपमा फुल लागेको देखेर फागुन महिना आएकोजस्तो महसुस भएको उहाँले बताउनुभयो । गत वर्ष वर्षा र हावाहुरीका कारण उत्पादनमा ह्रास आएको आँप यसपाली बेला नहुँदै फुल लागेको कृषि ज्ञान केन्द्र सुनसरी मोरङ कार्यालयका निवर्तनमा प्रमुख नुनुलाल उराँवले जलवायु परिवर्तनको असर भएको बताउनुभयो ।

समयमा वर्षा नभएको र बेमौसमी बर्षा भएको, गर्मी र तापक्रमको घटबढका कारणले चाँडै आँपमा फुल लागेको हुनसक्ने उहाँको भनाई छ । जलवायु परिवर्तनको असरले छिटो आँपमा फुल लागेको कृषि ज्ञान केन्द्र सुनसरीका बागवानी अधिकृत योगेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया