राङराङथलीमा गोलाकार तीलक पोखरी निर्माण

  पुष ०४, २०७८

चरिकोट, पुस ४ : थामी जातिकोे उदगम थलोको रुपमा मानिएको दोलखाको भीमेश्वर नगरपालिका–१ सुस्पास्थित राङराङथलीमा निर्माण हुन लागेको थामी सङग्रहालयको कम्पोनेन्टको रुपमा गोलाकारमा तीलक पोखरीलगायतका संरचना निर्माण भएको छ ।

आर्थिक वर्ष २०७५–७६ मा ३२ लाख ८८ हजार, २०७६–७७ मा ३० लाख र २०७७–७८ मा ७५ लाख गरी कुल एक करोड ३७ लाख रुपियाँको लागतमा गोलाकार तीलक पोखरी, पुल, खानेपानी, सडक, पकिनिक स्पोर्टलगायतको संरचना निर्माण भएको भीमेश्वर नगरपालिकाका योजना तथा पूर्वाधार शाखा प्रमुख इन्जिनियर सुरेश राउतले जानकारी दिनुभयो ।

उहाँकाअनुसार ओझेलमा परेको प्राचीन एवम ऐतिहासिक रहेको राङराङथलीको प्रचारप्रसार गरी पर्यटकमैत्री बनाउन गोडर खोला र गुम्फा आपोको बीच भागमा पोखरी निर्माण गरिएको हो । पोखरीले त्यहाँ पुग्ने सबैलाई लोभ्याउने गरेको स्थानीयको भनाई छ । पोखरीमा गोडर खोला र गुफा रसाएर आएको पानीलाई प्रयोग गर्नेगरी डिजाइन तयार गरिएको छ ।

अहिले चरिकोट भ्यूटावरदेखि सिँढीसहित तयार गरिएको गोरेटो बाटो पनि पोखरीमै जोडिन्छ । यसले चरिकोटबाट भ्यूटावर पुग्नेहरुलाई थप एक घण्टा जङगलको बाटो झर्दा राङराङथली पुग्न सहज हुने बुझाई निर्माणकर्ताको छ ।

थामी जातिको उदगम थलोको रुपमा मानिएको राङराङथलीमा अहिले पनि थामी जातिले परम्परागत भूमे पूजा गर्दैआएका छन् । पोखरीसँगै यहाँ नेपालकै पहिलो थामी सङग्रहालय निर्माण हुनलागेको छ । २५ रोपनी क्षेत्रफलमा निर्माणाधीन सङग्रहालयको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट आएको बजेट ६ करोड ८९ लाखमा चार करोड ४७ लाख रुयिाँमा ठेक्का सम्झौता भई काम थालनी भएको छ ।

डीपीआरअनुसार सङग्रहालयमा अत्याधुनिक थिएटर हल, भूमेस्थान, ध्यान केन्द्र, ओपेरास्थल, पाहुना घर, बाल बगैंचा, फाउन्टेन पार्कलगायत संरचना बन्ने निर्माण हुने बताइएको छ । यो सङग्रहालय संसारभरका पर्यटकको आकर्षणको केन्द्र बन्ने विश्वास गरिएको छ । डीपीआरअनुसार नै पोखरी पनि निर्माण भएको हो ।

तीलक पोखरीले सङग्रहालयलाई थप मनमोहक बनाउने छ । योजना तथा पूर्वाधार शाखा प्रमुख इन्जिनियर राउतले भन्नुभयो, “डीपीआरअनुसार जङगलमा बुर्कुसी मार्दै चरेका मृगको हुल सङग्रहालयको अर्को विशेषता हो । कालिज, डाँफे र जुरेलीको बथानले रूखको डाली चाहारेका दृश्य सङग्रहालयको थप सम्पत्ति हुनेछ ।

राङराङथली थामी जातिको ऐतिहासिक थलोलाई पहिचान गरेर सङग्रहालय बनाउन लागिएको जानकारी दिँदै भीमेश्वर नगरपालिकाका नगरप्रमुख भरत केसीले भन्नुभयो, “संग्रहालय बन्ने ठाउँ अत्यन्तै सुन्दर ठाउँमा छ । डिपिआरअनुसार संग्रहालय बन्न नगरपालिकाको बजेटले पुग्दैन । यसका लागि सङघीय र प्रदेश सरकारको सहयोग आवश्यक देखिएको छ ।”

सङग्रहालय निर्माण स्थलसम्म सडक पुिगसकेको बताउँदै योजना तथा पूर्वाधार शाखा प्रमुख इन्जिनियर राउतले भन्नुभयो, “छेउमै जोडिएको जङगललाई समेत सदुपयोग गर्दै सुनाखरी मार्गको रुपमा विकास गरिएको छ । थोरै क्षेत्रमा ५० प्रजातिभन्दा बढी सुनाखरी भेटिएका छन् । पदमार्ग दुई किलोमिटरको रहेको छ ।”

थामी जातिका पुर्खाले बस्ती बसालेको भग्नावशेष सङग्रहालय निर्माणस्थलमा फेला परेको छ । थामी जातिको पूर्खा यही ठाउँमा आएर बसेको प्रमाणित भएको छ । यहाँ भेटिएका भग्नावशेषले यसलाई पुष्टि गरेको छ । वडाअध्यक्ष वीरबहादुर थामीले भन्नुभयो । त्यसवेला प्रयोग गरिएको चुलो, पानी पिउनका लागि प्रयोग गरिएको पोखरी, बस्न प्रयोग गरिएको ओडार यहाँ फेला परेका छन्  । यही ठाउँमा सङग्रहालय निर्माण हुनु अत्यन्तै राम्रो पक्ष भएको स्थानीयको बुझाई छ ।

तपाईको प्रतिक्रिया