खाद्य सङ्कटमा रहेकाे लिमी गाउँमा हेलिकोप्टरबाट खाद्यान्न लगियाे

  मंसिर १३, २०७८

हुम्ला, मङ्सिर १३ : खाद्यान्न समस्या देखिएको हिमालपारिको गाउँ लिमीका लागि खाद्यान्न बोकेर नेपाली सेनाको हेलिकोप्टर त्यसतर्फ लागेको छ । सो खाद्यान्नसहित हुम्ला जिल्लाबाट संघीय संसदमा प्रतिनिधित्व गर्नुहुने सांसद रंगमति शाही बिहानै त्यसतर्फ लाग्नुभएको हो ।

सिमकोट विमानस्थलमा सांसद शाहीले खाद्यान्न समस्या देखिएको नाम्खा गाउँपालिका–६ लिमीका लागि राज्यका तर्फबाट खाद्यान्न पुर्याउने कार्य सुरु भएको बताउनुभयो । आइतबार बेलुका मात्र सिमकोट आइपुगेको सेनाको एमआई सेभेनटिन हेलिकोप्टरले खाद्यान्न ढुवानी सुरु गरेको उहाँले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले सिमकोटमा रहेको ३४ क्विन्टल खाद्यान्न ढुवानी हेलिबाट सुरु भएको बताउनुभयो ।

उच्च क्षेत्र भएको कारण एउटा उडानमा हेलिले ११ क्विन्टल खाद्यान्न मात्र ढुवानी गर्नेछ । सिमकोटबाट हेलिले तीन उडान भरेर लिमीमा खाद्यान्न पुर्याउनेछ । त्यसपछि हिल्सामा रहेको चार सय साठी क्वीन्टल मैदा तथा बीस बोरा चामल पनि ढुवानी गर्नेछ । सोमबार दिनभरि सिमकोट र हिल्साको खाद्यान्न ढुवानी हुने उहाँले बताउनुभयो । त्यसपछि आज हेलि सिमकोटमा बस्ने र बाँकी खाद्यान्न मङ्गलबार पनि ढुवानी गर्ने उहाँले बताउनुभयो ।

खाद्यान्नसँगै सांसद शाही र लिमीका वडा अध्यक्ष पाल्जोर तामाङ पनि जानुभएको छ । खाद्यान्न समस्या हुने देखिएपछि हिउँ छिचोल्दै सिमकोट पुगेका लिमीवासीले प्रदेश र सङ्घीय सरकारलाई यो समस्या तत्काल समाधान गर्न आग्रह गर्नुभएको थियो ।

केही दिन अगाडि २७ सदस्यीय लिमीवासीको टोली चार हजार छ सय मिटर अग्लो नारा लेक र पाँच हजार मिटर अग्लो न्यालु लेक पार गरेर आइपुगेको थियो । यसका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही, सांसद छक्कबहादुर लामा र सांसद शाही र प्रमुख जिल्ला अधिकारी आचार्यको विशेष पहल रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया