बालविवाह न्यूनीकरण गर्न बाजुरामा मतदान

  मंसिर १२, २०७८

बाजुरा, मङ्सिर १२ : बाजुराको बूढीगङ्गा नगरपालिका तथा खप्तड छेडेदह गाउँपालिकामा बालविवाह न्यूनीकरणका लागि अहिले मतदान कार्यक्रम सुरु गरिएको छ । उमेर नपुग्दै विवाह गर्ने क्रम बढ्दै गएकाले अहिले त्यो कार्य रोक्नका लागि त्यहाँका बालबालिकालाई सानै उमेरमा विवाह गर्नु राम्रो या नराम्रो भन्ने विषयमा मतदान कार्य सुरु गरिएको हो ।

बाजुराका अधिकांश पालिकामा बालविवाह गर्नुहुँदैन भन्ने विषयमा अभिभावक तथा बालबालिकाहरुलाई सुसूचित गर्ने गरी विभिन्न कार्यक्रम गर्दै आएपछि त्यसको मूल्याङ्कनका लागि मतदान कार्य सुरु गरिएको सामुदायिक विकास परियोजनाका पीसविन बाजुराका कार्यक्रम संयोजक टेकबहादुर थापाले बताउनुभयो ।

पहिलो पटक बाजुराको थुमा माविमा यससम्बन्धी गत शुक्रबारमा २८० जना बालबालिकाहरु तथा उनीहरुका अभिभावकले मतदान गरेका थिए । मतदानमा २६२ जनाले बालवाविह गर्नु ठिक होइन भन्ने पक्षमा र १४ जनाले बालविवाहको पक्षमा मतदान गरेको पीसविन बाजुराका सहज कर्ता गोमती कटुवालले बताउनुभयो । २० वर्ष नपुगेर विवाह गर्नुहुँदैन भन्ने कुरा कानुनी रुपमा पनि प्रष्ट लेखिएको भए पनि बाजुराका अधिकांश बालबालिकाले भन्ने १४ वर्षकै उमेरमा विवाह गर्दै आएका छन् ।

सरकारी तथा गैरसरकारी संस्थाले पनि सानै उमेरमा विवाह गर्नुहुँदैन भन्ने विषयमा गाउँमा विभिन्न जनचेतना कार्यक्रम फैलाउँदै आएका छन् ।गरिबी तथा बेरोजगारीका कारण उच्च शिक्षामा पठनपाठन गर्ने नसकिएपछि उनीहरु पढाइ छोडेर विदेश जाने वा बालविवाह गर्ने गरेको अभिभावकहरुको भनाइ छ ।

यो समस्यालाई समाधान गर्न र उनीहरुको पढाइलाई सहज हुने गरी अहिले संस्थाले विभिन्न स्कुलमा पोसाक तथा स्टेसनरी सामग्री सहयोग गर्दै आएको गुड नेवर्स इन्टरनेशनल नेपालका प्रायोजित सेवा तथा बालसंरक्षण अधिकृत गोविन्द्रकुमार चौधरीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया