जाजरकोटमा बस दुर्घटना : पाँच जनाको मृत्यु, २७ घाइते

  मंसिर १२, २०७८

जाजरकोट, मङ्सिर १२ : जाजरकोटमा आज बिहान भएको बस दुर्घटनामा पाँच जनाको मृत्यु हुनुको साथै २७ जना घाइते भएका छन् । नेपालगञ्जदेखि रुकुम पश्चिमको राडी बजारका लागि आउँदै गरेको ना ७ ख २७५७ नंम्बरको यात्रुवाहक रात्रिबस जाजरकोट भेरी नगरपालिका – १३ बराहचौर नजिक दुर्घटना भएको हो ।

जाजरकोटका प्रहरी प्रमुख डिएसपी मधुकुमार थापाले बिहान २ बजे बस दुर्घटना भएको जानकारी पाएपछि परिचालित प्रहरीले घाइतेहको उद्धार गरी जिल्ला अस्पताल जाजरकोटमा पु-याएको जानकारी दिनुभयो । मृतकहरुको पहिचान नभएको र घाइतेको उपचार जिल्ला अस्पताल जाजरकोटमा भइरहेको डिएसपी थापाले बताउनुभयो । बस सडकभन्दा करिब १ सय ५० मिटर तल खसेको थियो ।

जाजरकोटका प्रहरी डीएसपी मधुकुमार थापाका अनुसार बसमा ३२ जना यात्रु सवार थिए । राति बस दुर्घटना भएका कारण उद्धारमा ढिलाई भएको डिएसपी थापाले बताउनुभयो । बस के कसरी दुर्घटना भएकोबारे अनुसन्धान भइरहेको थापाले जानकारी दिनुभयो । घाइते र मृतक नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाका रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया