कोशी सम्झौताबारेकाे सम्मेलनका लागि विहार सरकारलाई आमन्त्रण पत्र

  मंसिर १०, २०७८

इनरुवा, मङ्सिर १० : सुनसरीको कोशी गाउँपालिकामा कोशी सम्झौताको बारेमा विहार सरकारको उपस्थितिमा सम्मेलन गर्ने भएको छ । कोशी गाउँपालिकामा कोशी सम्झौता यता भएको कामकार्वाही, लाभहानी, पहुँचका बारेमा जानकारी आदानप्रदान गर्ने गरी विहार सरकारको उपस्थितिमा जनवरीको पहिलो हप्ता कोशी सम्मेलन गर्ने भएको छ ।

कोशी सम्झौतामा भएको १९५४ र संशोधन १९६६ को समीक्षासमेत गर्ने गरी विहार राज्य सरकारको उपस्थितिमा कोशी सम्मेलन गर्ने तयारी भएको कोशी उपाध्यक्ष अनिता यादवले जानकारी दिनुभयो । कोशी व्यारेज निर्माण र त्यसबाट निस्केका नहरहरु, कोशी तटबन्धसहित भाडामा लिएको जग्गाको उपयोगबारे र सम्झौता बाहेकको काममा दुवै पक्षलाई भएको फाइदाको समीक्षा समेत गर्ने गरी सम्मेलनको निम्तो विहार सरकारलाई दिएको यादवले बताउनुभयो ।

विहार सरकार र त्यहाँका जनतालाई कोशी बाँधको असर , नेपाली पक्षमा परेको असरका बारे र निर्माण भएका भौतिक विकासमा भएका सहयोग , बाटो घाटोको कारण नागरिकमा पुगेको योगदानको समेत समीक्षा र सहयोग आदानप्रदान समेत गर्ने गरी २०२२ को पहिलो जनवरीमा सुनसरीको कोशी गाउँपालिकाको आयोजनामा हुन लागेको सम्मेलनको लागि विहार राज्य सरकारका जल संशाधन मन्त्री सञ्जय झालाई आमन्त्रण पत्र दिइएको छ ।

कोशी गाउँपालिकाका उपाध्यक्ष अनिता देवी यादव नेतृत्वको टोलीले कोशी सम्झौता र त्यसको लाभबारे जानकारी आदानप्रदान गरिएको पालिकाका सामाजिक विकास शाखा प्रमुख राजकिशोर मेहताले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया