बँदेलको झुन्ड ठोक्किएपछि धावनमार्ग वरिपरिका झाडी फाँड्न सुरू

  कार्तिक १७, २०७८

नेपालगञ्ज, कात्तिक १७ : सीता एअरको जहाजमा तीनवटा बँदेल ठोक्किएपछि नेपालगञ्ज विमानस्थलको धावनमार्गको वरिपरि रहेको झाडी र रुखहरु काट्ने काम शुरु गरिएको छ ।

विमानस्थलको धावनमार्ग वरिपरि धेरै ठूला झाडी र घाँस रहेकोले त्यहाँ जंगली जनावरहरु आएर लुकेर बस्ने तथा बेला बेलामा जहाजसंग ठोक्किने गरेकोले बुधवारबाट झाडी काट्ने कार्य शुरु गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जनाउनुभयो ।

मङ्गलवार बिहान नेपालगञ्जबाट हुम्लाको सिमकोटका लागि उड्न लागेको सीता एयरको ‘ नाइन एन–एएचबी’ जहाजसँग तीन वटा बँदेल एकैपटक ठोकिएका थिए ।

सो घट्नाबाट ठूलो दुर्घटना नभएपनि त्यस्तो घट्ना फेरि कुनै पनि बेला हुन सक्ने र ठूलो क्षति समेत हुन सक्ने हुँदा धावन मार्ग वरिपरि बढेको झाडी र बुट्यान हटाउने कार्य शुरु गरिएको प्रजिअ खत्रीले बताउनुभयो । विमानस्थलको धावनमार्ग वरिपरिको झाडी र बुट्यान हटाउन १५० सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यो काम खासमा नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो बजेटबाट गर्नुपर्ने जनाउँदै प्रजिअ खत्रीले पटक–पटक जहाजसँग वन्यजन्तु ठोकिने क्रम बढ्न थालेपछि सुरक्षाका हिसाबले तत्कालै सरसफाई गर्नु परेको बताउनुभयो ।

सो कार्यमा प्रमुख जिल्ला अधिकारी खत्रीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभागका जिल्लास्थित प्रमुख, नागरिक उड्डयन प्राधिकरणका कर्मचारी लगायत आफै खटिएका छन् ।

विमानस्थल व्यवस्थापनको सुरक्षा लापरबाहीले गर्दा पटक–पटकजहाजमा वन्यजन्तु ठोक्किने गरेका छन् । विमानस्थलको हाल १७ सय मिटर लामो धावनमार्ग छ । धावनमार्ग वरिपरी बाक्लो झाडी र बुट्यान  छन् । त्यहाँ बँदेल, खरायो, निलगाई, दुम्सी, स्याल लगायत वन्यजन्तुले बासस्थान नै बनाएका छन् ।

तपाईको प्रतिक्रिया