खर्चको जोहो गर्न सिजन अगावै काँचो जुनार बिक्री

  कार्तिक ०३, २०७८

सोलाभञ्ज्याङ (सिन्धुली), कात्तिक ३ : सिन्धुली जिल्लामा चाडपर्वमा भएको खर्च टार्न किसानले सिजनभन्दा पहिलेनै काँचो जुनार बिक्री गर्न सुरु गरेका छन् । दशैं–तिहार लगायतका चाडपर्वमा हुने खर्च टार्न र घरको गर्जो टार्न काँचो जुनार बिक्रि गर्न बाध्य हुनुपरेको किसानले बताएका छन् ।

बारीका कान्लामा पाँच सात बोट जुनार हुनेले चाडपर्वलाई लक्षित गरी खर्च जुटाउन सिजन अगावै काँचो जुनार बजारमा पु-याई बिक्री गरिरहेको किसानको भनाइ छ । जुनार छिट्टै बोटबाट टिप्दा अर्को बर्ष फल्ने ग्यारेण्टी हुने र सिजनभन्दा पहिले बजारमा पु-याउन सके भाउ पनि राम्रो पाइने गोलन्जोर गाँउपालिका– ५ रतनचुरा निवासी एक किसानले बताउनुभयो ।

अहिले जिल्ला सदरमुकाम सिन्धुलीमाढी, खनियाखर्क, सोलाभञ्ज्याङलगायत बजारमा काँचो जुनार खुल्ला रुपमा बिक्री भइरहेको कमलामाई नगरपालिका–४ निवासी सुरेश मगरले जानकारी दिनुभयो । बीपी राजमार्ग हुँदै यात्रा गर्ने यात्रुलाई लक्षित गरी किसानले सिजन पहिले नै काँचो जुनार बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सिन्धुली जिल्लामा जुनारको मुख्य सिजन मङ्सिर दोस्रो हप्तादेखि सुरु हुन्छ ।’ जुनार उत्पादनका लागि सिन्धुली जिल्लाले नेपालमै ख्याति कमाएको छ ।

व्यावसायिक रुपमा जुनार खेती गर्दै आउनुभएका गोलन्जोर गाँउपालिका–४ तीनकन्याका किसान बीरबहादुर अस्थानी काँचो जुनार बिक्री गर्दा सिजनमा पाकेको जुनार बिक्री गर्न अप्ठेरो पर्ने बताउनुभयो । सिजनभन्दा पहिले नै बजारमा आउन थालेपछि जुनारको गुणस्तर जोगाउन जुनार विकास सङ्घले स्थानीय एफएम रेडियोमार्फत सूचना जारी गरी काँचो जुनार बिक्री नगर्न किसानहरुलाई अनुरोध गरेको छ ।

काँचो जुनार बिक्री गर्दा कागतीजस्तै अमिलो हुने र त्यसले जुनारको पनि बद्नाम हुने भएकाले जुनार पाकेपछि मात्रै बिक्री गर्न किसानलाई अनुरोध गरेको सङ्घका अध्यक्ष कर्णबहादुर आलेमगरले जानकारी दिनुभयो । मङ्सिरको दोस्रो हप्तादेखि जुनारको सिजन सुरु हुने भएकाले किसानलाई त्यसबेलासम्म जुनार बिक्री नगर्न सम्झाएको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपरजोनकाअनुसार तीनकन्या, रतनचुरा, बाशेश्वर, जलकन्या, मझुवा, दुम्जा, भुवनेश्वरी लगायतका ठाँउमा झण्डै आठ हजार किसानले व्यावसायिक रुपमा जुनारखेती गर्दैआएका छन् । व्यावसायिक जुनारखेतीले घरखर्च चलाउन र छोराछोरीको पठनपाठनमा सहयोग पुगेको किसानको भनाइ छ ।

महाभारत क्षेत्र अन्तर्गत सामुद्री सतहबाट आठ सय मिटर माथि र १२ सय मिटरको जमिन जुनारखेती गर्न उपयुक्त स्थान मानिन्छ । जिल्लामा यो वर्ष एक हजार ३४५ हेक्टर जमिनमा जुनार खेती गरिएको स्थनीयको भनाइ छ । गत वर्ष जुनार खेतीबाट आठ हजार ८८१ मेट्रिक टन जुनार उत्पादन भएको जुनार सुपर जोनले जनाएको छ ।

तपाईको प्रतिक्रिया