पानी पर्ने बित्तिकै पहिरो र लेदो-प्यूठान भालुबाङ सडक खण्ड अवरुद्ध

  कार्तिक ०१, २०७८

बिजुवार (प्यूठान), कात्तिक १ : सडकमा पहिरो खसेपछि गए रातिदेखि प्यूठान भालुबाङ सडक खण्ड अवरुद्ध भएको छ । गएराति सरुमारानी गाउँपालिका–४ को बड्डाडा र माण्डवी गाउँपालिकाको थकलेनीबीचका सडकमा माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख, प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो ।

सरुमारानी गाउँपालिकाको बड्डाडादेखि प्यूठान तर्फका करिब आधा दर्जन बढी ठाउँमा पहिरो गएको छ । मल्लका अनुसार प्यूठान–भालुबाङ सडक खण्ड अन्तर्गतको गर्जेनी, अधेंरी, खहरेखोला, प्यारपाटालगायतका विभिन्न ठाउँमा ठूलो पहिरो गएको छ । सडक अवरुद्ध हुँदा जिल्ला भित्रिने र बाहिरिने गाडीहरु बीचबाटोमै रोकिएका छन् । यहाँ पानी पर्नेबित्तिकै पहिरो झर्ने र सवारी आवागमन अवरुद्ध हुने गरेको स्थानीयले बताएका छन ।

पछिल्लो समय मुख्य सडकसँग जोडिएका शाखा सडकबाट पानी पर्नासाथ ढुङ्गा माटोसहितको लेदो मुख्य सडकमा आउने गरेको छ । अहिले सडक डिभिजन कार्यालयको जेसिबीमार्फत पहिरो पन्छाउने कार्य भइरहेको प्यूठान प्रहरी प्रमुख मल्लले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया