लिम्बू समुदायको दशैँ संस्कृति लोप हुँदै

  असोज २९, २०७८

ताप्लेजुङ, असोज २९ : ताप्लेजुङसहित पूर्वमा बसोबास गर्ने लिम्बू समूदायको दशैँ संस्कृति लोप हुँदै गएको छ । नवरात्र शुरु भएपछि नगरा (दमाहा बाजा) बजाउनेदेखि दशैँमा निशान प्रदर्शन गर्ने तथा मार हान्नेजस्ता संस्कृति हराउँदै गएको हो । हिन्दू धर्मावलम्बीहरुको महान् चाडको रुपमा रहेको दशैँ चाड विगतमा लिम्बू समुदायले धुमधामसँग मनाउने गरेकोमा पछिल्लो समय त्यो परम्परा क्रमशः हराउँदै गएको छ ।

प्रचीन किपोट, सुब्बा, बैदार, सुभाङ्गीजस्ता प्रथा तथा परम्पराको लोपसँगै पुरानो प्रचलनमा रहेको लिम्बू समुदायले मनाउँदै ल्याएको दशैँ संस्कृति लोप हुँदै (हराउँदै) गएको हो । आधुनिकतासँगै पुरानो परम्परालाई पछिल्ला पुस्ताले निरन्तरता नदिँदा तथा धार्मिक निरपेक्षता र स्वतन्त्रताको विषयमा बहस शुरु हुन थालेपछि निश्चित समुदाय साथै धर्मविशेष चाडपर्वका रुपमा हेरिन थालिएकाले पनि परम्परागत संस्कार, संस्कृति र चलन हराउँदै जान थालेको पाइएको छ । यद्यपि, किराँत तथा युमा धर्म मान्दै आएका लिम्बू समूदायले साँस्कृतिक सद्भावका रुपमा भने दशैँ पर्व मनाउने गरेको पाइँन्छ ।
हाल धर्म विशेष संस्कार वा चाडपर्वहरु आपसी सद्भाव तथा सहिष्णुता कायम गर्नका लागि फरक–फरक धर्मावलम्बीले पनि साथ दिने अर्थात मनाउने गरेका छन् । गैर हिन्दू अर्थात फरक धर्मावलम्बी वा समूदायले त्यस्ता चाडपर्वहरु मनाउने गर्नाले कतिपय पर्वहरु साझाजस्तै पनि बन्दै गएको देखिन्छ । तर, पुरानो प्रचलनमा भन्दापनि आधुनिक ढाँचा र शैलीमा त्यस्ता चाडपर्व मनाउने गरिएको छ ।

पूर्वका ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा लगायतका जिल्लामा बसोबास गर्ने लिम्बू समूदायले दशैँ पर्व दही अक्षताको सेतो टीका र जमरा लगाएर मनाउने गरेका छन् । सुब्बाको प्रतीक स्वरुप निशान प्रदर्शनसमेत गर्ने गरेका छन् । पहिले–पहिले भव्यरुपमा सेतो टीका जमरा लगाएर साथै निशान प्रदर्शन गरेर र मार काटेर दशैँ पर्व मनाउने गरेका लिम्बू समुदायले अहिले त्यो प्रचलन छोड्दै लगेका छन् । हाल साँस्कृतिक सद्भावका रुपमा मात्र दशैँ मनाउँदै आएको लिम्बू समूदायका बौद्धिक तथा अगुवाहरुको भनाइ छ ।

आधुनिकतासँगै हाल लिम्बू समुदायले मनाउँदै ल्याएको दशैँ पर्व टीकाको दिन आफूभन्दा सानालाई दही अक्षताको सेतो टीका लगाई आशिर्वाद दिने साथै आफ्नो गच्छेअनुसार दक्षिणा दिने चलन छ । यसरी आफन्त, नातेदार तथा परिवारका सदस्यहरु जुटेर दशैँ पर्व मनाउने गरिए पनि लिम्बू समूदायका अगुवाले दशैँ सामाजिक तथा साँस्कृतिक सद्भावका लागि मात्र मनाउँदै आएको बताउँछन् ।

किराँत धर्म तथा साहित्य उत्थान सङ्घका केन्द्रीय सदस्य लेखबहादुर पालुङ्वाले राजा पृथ्वीनारायण शाहका पालामा राज्य एकीकरणसँगै धार्मिक एकीकरणका निम्ति सबै समुदायलाई दशैँ मनाउन र टीका लगाउन बाध्य बनाइएको बताउनुभयो । राज्य एकीकरणका क्रममा लिम्बू सुब्बाहरुलाई नगरा, निशान, किपोट, सुभाङ्गीजस्ता अधिकार दिइएको र दशैँ नमनाए सबै जिम्मावाल अर्थात अधिकार खोसिने भनेपछि लिम्बूले बाध्य भएर दशैँमा टीका लगाएको इतिहास भएको पालुङ्वा बताउनुहुन्छ ।

सुरुमा राँगा, बाख्राजस्ता चौपायाको मार काट्ने (बलिदिने) संस्कारसँगै रगतले मुछिएको रातो लगाउने चलन रहँदै आएकोमा राज्यको विकास क्रमसँगै पछि अधिकार क्रमशः खोसिँदै लगिएपछि लिम्बू समूदायले सेतो टीका लगाउन थालेको पनि अग्रजहरु बताउँछन् । लिम्बूलाई सुरुमा दिइएको अधिकार खोसिएपछि सो इतिहासको सम्झाना स्वरुप अहिले लिम्बूले दही अक्षताको सेतो टीका लगाउन थालेको अग्रजको भनाइ छ ।

लिम्बू किराँत समुदायको चाड नभए पनि साँस्कृतिक सद्भावकै लागि दशैँ मनाउँदै आएको किराँत धर्म तथा साहित्य उत्थान सङ्घ ताप्लेजुङका सचिव ज्ञानु फुरुम्बो लिम्बूले बताउनुभयो । पछिल्लो समय लिम्बू समूदायमा चेतनाको विकास हुँदै गएपछि दशैँमा सेतो टीका र जमरा लगाउने तथा पञ्चावली गर्ने चलन अधिकांशले छोड्दै गएका लिम्बूको भनाइ छ ।

सीमित ठाउँमा निशान प्रदर्शन
दशैँको महानवमीका दिन लिम्बुवानमा निशान निकाल्ने र प्रदर्शन गर्ने चलन पनि रहिआएको छ । हरेक वर्ष दशैँको नवमीका दिन पाँचथरको याङ्वरक गाउँपालिकाको थर्पू र धनकुटाको छथर ताङ्खुवामा निशान प्रदर्शन गर्ने गरिएको छ । विभिन्न ध्वजा पतकाले सजाएर निशानको पूजा गरी प्रदर्शन गरिन्छ भने ढाल, तलवार, खुँडाजस्ता प्रचीन हात हतियारसमेत प्रदर्शन गर्ने गरिन्छ । विगतमा महानवमीको दिन बिहानदेखि दिनैभर प्रदर्शन गर्ने गरिन्थ्यो भने हाल बिहान थोरै समय मात्र निशान प्रदर्शनमा निकाल्न थालिएको छ ।

नेपाल एकीकरणकै सन्दर्भमा राजा पृथ्वीनारायण शाहले पाएको अधिकार मात्र उपयोग गर्न भनी जिम्मावाल सुब्बाहरुलाई निशान दिइएको भन्ने इतिहास रहेका कारण त्यसबेलाका सुब्बाका सीमित परिवारले अहिले निशान प्रदर्शन गर्ने गरेको पाइएको छ । सुब्बा, जिम्मावाल जस्ता अधिकार पहिल्यै खोसिएको भए पनि पहिलेको अधिकारको सम्झाना स्वरुप निशान नचाउने र प्रदर्शन गर्ने गरिँदै आएको किराँत धर्म तथा साहित्य उत्थान सङ्घ ताप्लेजुङका सचिव ज्ञानु फुरुम्बो (चरपे) को भनाइ छ ।

उहाँका अनुसार दशैँको नवरात्र सुरु भएपछि सुब्बाहरुले नगरा (दमाहा बाजा) बजाउने र प्रत्येक दिन पूजाआजा गर्ने गरिन्छ । महानवमीका दिन भने विशेष पूजासहित मार काटेर निशान प्रदर्शन गर्ने गरिएको फुरुम्बोले बताउनुभयो । महानवमीमा भाले र पोथी सङ्केत गरी दुईवटा निशान प्रदर्शन गर्ने गरिएको पनि उहाँको भनाइ छ । पाँचथरको थर्पुमा श्रीजङ्गा र सिरिकम्फु नामको निशान निकाल्ने र प्रदर्शन गर्ने गरिएको छ ।

पूर्वको लिम्बुवानमा यी निशानहरु परापूर्वकालदेखि नै प्रदर्शन गरिँदै आएको छ । लालमोहर र ताम्रपत्रमा उल्लेख गरिएका शब्दहरु निशानका ध्वाजामा समेत उल्लेख रहेको बताइँन्छ । ऐतिहासिक महत्व बोकेका कारण दशैँको नवमीका दिन याङ्वरकस्थित थर्पुको कालिकाधाममा विशेष पूजाआजासहित निशान प्रदर्शन गर्ने गरिएको स्थानीय लभहाङ लिम्बूले बताउनुभयो । लिम्बू समूदायले मात्र नभई ब्राम्हण, क्षेत्री लगायत अन्य समूदायका नागरिक समेतले निशानको पूजा गर्ने र आफ्नो मनोकाङ्क्षाबारे सङ्कल्प गर्ने गर्दछन् ।

तपाईको प्रतिक्रिया