गएराती भएको जिप दुर्घटना तीन जनाको मृत्यु, ६ घाइते

  असोज २९, २०७८

तम्घास, असोज २९ : गुल्मीमा बिहीबार गएराती जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । बुटवलबाट तम्घास आउँदै गरेको लु १ ज ४४९० को जिप रेसुंगा नगरपालिका १० पाँचरातेमा दुर्घटना हुँदा जिपमा सवार नौ जना मध्ये तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मुसिकोट नगरपालिका वडा नम्बर २ का ७२ बर्षीय क्षेत्रबहादुर थापा,४५ बर्षीय राधिका थापा र मुसिकोट नगरपालिका वडा नम्वर ३ की १९ बर्षीय संगिता सुनार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिनुभयो । दुर्घटनामा परि मुसिकोट नगरपालिका वडा नम्वर २ का चालक २६ बर्षीय कमल थापा, ४३ बर्षीय खिमा थापा, ३६ बर्षीय राजु थापा,३८ बर्षीय जुना थापा ,भरतपुर उप महानगरपालिकाकी ५० बर्षीय राधा केशी ,वडा नम्बर ३की ४७ बर्षीय सुमित्रा सुनार रहेका छन् ।

घाइते मध्ये राधा ,जुना सुमित्रा ,राजु र खिमाको शरीरका विभिन्न भागहरुमा चोट लागेको र उनीहरुको पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिप सडकदेखि करिब पाँचसय मिटर तल खसेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक तीनै जनाको शबलाई गुल्मी अस्पतालमा पोष्टमार्टमका लागि राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

तपाईको प्रतिक्रिया