म्याग्दीको भगवती कोतमा राँगो मार हान्न तीन लाखको बोलकबोल

  असोज २८, २०७८

म्याग्दी, असोज २८ : म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती कोत मन्दिरमा विजया दशमीको नवमीका दिनमा वलि चढाईने सरकारी राँगो मार हान्न (काट्न) तीन लाखको बोलकबोल भएको छ । बुधवार साँझ कालरात्रीमा खुला बढीबढाउ मार्फत सरकारी राँगोको मार हान्ने छिनोफानो गरिएको हो ।

बढीबढाउमा बयरी डिलका आर्यन खड्काले सबैले भन्दा धेरै तीन लाख रकम तिर्ने कबोल गरेरे सरकारी बलीको मार हान्ने हुनुभएको छ । खड्काले बुधवार नै कबोल रकम पुजा व्यवस्थापन समितिलाई उपलब्ध गराइसक्नुभएको छ । यसअघि २०७६ सालको दशैंको नवमीमा भगवतीमा दुई लाख ८८ हजारसम्ममा सरकारी मारको बढीबढाउ भएको थियो । गत बर्ष कोरोना महामारीको कारण भगवतीमा सरकारी मार स्थगित गरेर दशैँको औपचारिक पूजाआजा मात्रै गरिएको थियो ।

नवमीको दिन वलि दिईने राँगो मार हान्ने व्यक्तिले कालरात्रीको राति कोतमन्दिरमा सर्वसाधारणको बिचमा खुल्ला बोलकबोल गरिन्छ ।
भगवती कोतमा दूर्गा भगवतीलाई वलि चढाइने राँगो मार हान्न ठूलो हानथाप नै हुँदै आएको छ । तत्कालिन बाइसे÷चौबिसे राज्यकालदेखि यहाँको कोतमन्दिरमा बढीबढाउ गरी राँगो हान्ने (काट्ने) चलन छ ।

तपाईको प्रतिक्रिया