सिटिजन बैंक लुट्ने तीन जना लुटेरा प्रहरीद्वारा सार्वजनिक

  असोज २७, २०७८

विराटगनर, असोज २७ : मोरङको धनपालथान गाउँपालिका-४ स्थित कर्सिया चोकमा रहेको सिटिजन बैंक लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ परेका तीन जनालाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन आयोजना गरी अभियुक्तहरुलाई आज सार्वजनिक गरेको हो ।

बैंक लुटपाटको घटनामा नौ जनाको संलग्नता रहेको भएपनि तीन जनामात्र पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीले फरार भएका अन्य छ जनाको खोजी गरिरहेको जनाएको छ ।

असोज २५ गते सोमबार अपरान्ह पौने चार बजे सात जनाको लुटेरा समूह बैंकमा पसेर लुटपाट गरेको प्रहरीले जनाएको छ । लुटेराहरुसँग प्रतिकार गरेका बैंकका सुरक्षा गार्ड रंगेली २ का ४० वर्षे सीतल कुमाललाई उनीहरुले पछाडिबाट गोली प्रहार गरी घाइते बनाएका थिए । घाइते कुमालको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न विराटनगर महानगरपालिका ८ का ३२ वर्षिय श्याम मुखिया, भारत अररिया सेखपुरा ५ का २८ वर्षिय सुनिल यादव, अररिया गोगराका ३० वर्षिय विजय सहनीलाई प्रहरीले बुधबार सार्वजनिक गरेको हो । लुटेरा समूहमा संलग्न अन्य व्यक्तिको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

बैंक लुटपाट गरी २५ प ३८९९ नम्बरको मोटरसाइकलमा भाग्दैगरेको अवस्थामा प्रहरीले खयरबना चोक नजिकबाट हतियारसहित तीन जना लुटेराहरुलाई पक्राउ गरेको थियो । प्रहरीले लुटेरा समूहमाथि गोली चलाउँदा बिजय सहनीलाई गोली लागेको छ । उनीहरु तीनैजना एउटै मोटरसाइकलमा चढेर भागिरहेको प्रहरीको भनाई छ । प्रहरीले सहनीको साथबाट कटुवा पेस्तोल बरामद गरेको जनाएको छ ।

लुटपाटका क्रममा प्रयोग भएको पल्सर मोटरसाइकल, कटुवा पेस्तोल र सुनिल यादवले प्रयोग गरेको कटुवा पेस्तोल र त्यसमा लाग्ने एक राउण्ड न पड्केको गोली, तथा घाइते सुरक्षा गार्डको शरीरबाट निकालिएको गोली बरामद गरी प्रमाणको रुपमा राखेको जनाएको छ ।

बैंक लुटपाटका क्रममा लुटेराहरुले २७ लाख रुपियाँ नगद लुटेर लगेको भएपनि प्रहरीले त्यस विषयमा स्पष्ट पारेको छैन । अनुसन्धान जारी रहेको भन्दै प्रहरीले रकमको विषयमा पछि जानकारी गराउने जनाएको छ ।

तपाईको प्रतिक्रिया