दशैंमा बजेन ढोल, लोप हुँदै समुदायको मौलिकता

  असोज २३, २०७८

जनकपुरधाम, असोज २३ : प्रविधिको अधिक्तम विकासले परापूर्वकालमा ढोल पिटेर दशैंआएको सूचना दिने परम्परा करिब लोप हुन थालेको छ । ‘दशैं आयो’ भनेर घरदैलोमा ढोल बजाउने संस्कृतिलाई कम्प्युटर प्रविधिले रोक्न नसके पनि समुदायमा यसवर्ष दशै शुरुहुँदा ढोल बजेको सुनिएन ।

दशैंमा ढोल बजाउनु पुरानो संस्कृति हो । तर ढोल बजाउने जातीय संगठन नराम्रो काम हो भनेर करिब दशक अघिदेखि दशैंमा ढोल बजाउन लगाएको प्रतिबन्ध अझै कायमै छ । दशैंको नवरात्रीको दश दिन ढोल बजाएर पाँच जना सदस्य परिवारको वर्षभरि खानेगरी अन्नपात, दाल, तेल, पैसालगायत खाने लाउने सामग्री आर्जन हुन्थ्यो । ढोल नबजेका कारण आम्दानीबाट तराईका राम (चमार) समुदाय बञ्चित भएका छन् । दलित आन्दोलनले राम समुदायलाई ढोल बजाउन रोक लगाउँदै आएका छन् ।

कला, संस्कृति र जातीय परम्परागत पेशासँग जोडिएको ढोल बजाउने कार्य अन्य शुभकार्य, उत्सवमा बजाएको पाइन्छ । विवाह, ब्रतबन्ध, लोकनाँच, छठ, तिहार, न्वारन, छठिहारलगायत मु्स्लिम समुदायको दाहामा राम समुदाय (चमार जाति) ले ढोल बजाउने गरेको देखिन्छ । दशैंमा ढोल बजाउन नदिइएको स्थानीय लक्ष्मण रामले बताउनुभयो ।

दशैँ पर्वको घटस्थापनाकै दिन बस्तीका चमार जातिका अगुवा ठूलो आवाजको नगरा (ढोल) बजाउँदै कराउँदै हिँड्दा ससाना नानीहरु उनका अघिपछि झुम्मिने गर्थे । अब यस्तो हेर्न सुन्ने कुरा इतिहासमा सीमित हुन लागेको बायोबृद्ध नन्दलाल साहले बताउनुभयो । “ढोल बजाएवापत अन्तिम दिनमा घरघरमा दक्षिणा लिन आउने गर्दा हामीले धान, चामल, दाल, आलु, तेल, पैसालगायतको सामग्री दिने गर्दथ्यो” उहाँले भन्नुभयो ।

नयाँ पुस्ताका युवाले परम्परालाई नअँगालेपछि गाउँ नगरबस्तीमा अचेल दशैँको ढोल बज्न छाडेको कतिपय स्थानीयको भनाई छ । जनकपुरका मोहनराम चमारकाअनुसार करिब डेढ दशकअघि दलित आन्दोलनले सिनो फाल्ने र दशैंमा ढोल बजाउने कुरामा कडाइसाथ रोक लगायो । जरिवानासम्म पनि गरियो । यसैकारण धेरै वर्षसम्म हामीले ढोल बजाएनौ । अहिले लुकिछिपी कतैकतै बजाइने गरेको उहाँले बताउनुभयो ।

सामान्य लेखपढ गर्न जानेका दलित समुदायभित्रको चमार जातिका नयाँ पुस्ताका किशोर र युवा रोजगारीका लागि भारत, कतार, मलेसियालगायत अन्य अरब राष्ट्रतिर जान थालेपछि पुख्र्यौली रीतिथिति र पेशा थाम्ने काम ओझेलमा परेको उहाँले बताउनुभयो । दशैमा ढोल नबजाउँदा पर्वको संस्कृति र चमार जातिको पुख्र्यौली पेशा नै संकटमा पर्न थालेको उहाँको बुझाई छ ।

तपाईको प्रतिक्रिया