नगद ९५ लाखसहित दुई भारतीय नागरिक पक्राउ

  असोज १०, २०७८

काठमाडौँ, असोज ९ : काठमाडौंको नागढुङ्गाबाट प्रहरीले ९५ लाख नेपाली रुपियाँसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएका सागर माली र कृष्ण अढाडे छन् । चितवनबाट काठमाडौं आउँदै गरेका बेला स्रोत नखुलेको ९५ लाख रुपियाँसहित नागढुङ्गाबाट आज पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गा चेक प्वाइन्टबाट प्रहरीले चेकगर्दा नगदसहित दुई जनालाई पक्राउ गरेको छ ।” भारतको मुम्बई घर भएका दुबै जना ग १ ख ६६४५ नम्बरको हाइस माइक्रो गाडीमा चितवनबाट काठमाडौं आएको उहाँले बताउनुभयो ।

यात्रुबाहक माइक्रो बसको ८ र ९ नम्बर सिटमा बसेका दुवैको झोला चेकजाँच गर्दा सो नगद फेला परेको थियो । सो रकम अवैध हुन्डी कारोबारको हुनसक्ने प्रहरीको भनाई छ । उहाँले भन्नुभयो, “पैसा ल्याउनेहरूले स्रोत खुलाउन सकेका छैनन्, थप अनुसन्धान गर्दैछौँ ।” मालिको साथबाट ४५ लाख र अढाडेको साथबाट ५० लाख फेला परेकाले थप अनुसन्धान भइरहेको एसपी बस्नेतले बताउनुभयो ।

तपाईको प्रतिक्रिया