एक हजार ४७८ संक्रमित, एक हजार ६३० कोरोनामुक्त, ६ को निधन

  असोज ०६, २०७८

काठमाडौं, असोज ६ : नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ४७८ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले १३ हजार ९३० वटा नमूना परीक्षण गर्दा एक हजार ४७८ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

नेपालमा सङ्क्रमण दर १९ दशमलव एक प्रतिशत रहेको छ । योसँगै हाल देशभर सक्रिय सङ्क्रमित २१ हजार १३९ जना रहेका छन् । उहाँका अनुसार ५०० भन्दाबढी सङ्क्रमित भएका जिल्ला नौ र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला २१ छन् । पछिल्लो २४ घण्टामा एक हजार ६३० जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म सङ्क्रमणमुक्त हुने कूल सङ्ख्या सात लाख ५५ हजार ६३० छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९५ दशमलव नौ प्रतिशत छ ।

यस्तै सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा छ जनाको ज्यान गएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार ५९ जनाको निधन भइसकेको छ । हाल देशभर ३३४ जना सघन उपचार कक्षमा, ११९ जना भेन्टिलेटरमा, १९ हजार ८०५ जना होमआइसोलेसन, एक हजार ३३४ जना संस्थागत आइसोलेसन र २४३ जना क्वारेन्टिनमा छन् । आज एक लाख ५६ हजार १८ जनाले खोप लगाएका छन् । अहिलेसम्म पहिलो मात्रा ६२ लाख ६२ हजार ८७० र पूर्णमात्रा ५७ लाख ५२ हजार ८५३ जनाले लगाइसकेका छन् ।

तपाईको प्रतिक्रिया