अर्घा भगवती विमानस्थलको रनवे निर्माणकाे पहिलाे चरणकाे काम पूरा, दाेस्रा चरणकाे काम सुरू

  असोज ०५, २०७८

अर्घाखाँची, असोज ५ : अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वाडनम्वर १० शिखरबार्नीमा निर्माण हुँदै गरेको अर्घा भगवती विमानस्थलको दोस्रो चरणको निर्माण कार्य शुरु भएको छ । पहिलो चरणमा पाँचसय मिटर लम्बाइ र ४० मिटर चौडाइको विमानस्थलको ‘रनवे’को काम पुष्पा जेभी कन्स्ट्रक्सनले पाँच करोड ६९ लाख रुपैयाँको लागतमा सम्पन्न गरेको छ ।

पहिलो चरणको विमानस्थल निर्माणको काम सकिएको झण्डै एक बर्षपछि दोस्रो चरणको निर्माणको काम शुरु गरिएको हो । आठ करोड १० लाखको दोस्रो चरणको निर्माण कार्यको लागि प्रदीप प्रतिभा खनाल ब्रदर्श जेभीले तीन करोड ५६ लाखमा ठेक्का पाएको छ । जसअन्तर्गत एक लाख ८० हजार घन मिटर माटो कटिंग, एक लाख ७६ हजार माटो बोक्ने, ३९ सय घन मिटर फिलिंग र १८ सय घन मिटर ग्याभींग जालीको काम रहेको निर्माण व्यवसायी कविराम खनालले बताउनुभयो ।

काम गर्नको लागि नागरिक उड्यन प्राधिकरणसँग एक बर्षको सम्झौता गरिएको छ । जिल्ला बासीहरु अहिले सन्धिखर्कबाट रुपन्देहीको भैरहवामा गएर हवाइ यात्रा गरिरहेका छन् । आफ्नै जिल्लामा विमानस्थल भएमा बिहान काठमाडौं गई काम सकेर साँझ घर फर्कन सक्ने सपना देखेका जिल्लाबासीको सपना पूरा हुन कति बर्ष लाग्ने हो त्यो भने हेर्न बाकी छ । पूर्वमन्त्रि तथा अर्घाखाँचीका प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीले शिलान्यस गरि निर्माण कार्यको थालनी सुरु भएको हो ।

तपाईको प्रतिक्रिया