नागरिकता बनाउन दुईसाता कुर्नु पर्ने बाध्यता

  असोज ०५, २०७८

कपिलवस्तु असोज ५ : जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा कर्मचारी अभाव हुँदा नागरिकता बनाउन सास्ती भएको छ । कर्मचारी अभावका कारण कार्यालयमा अन्य सेवा प्रवाह गर्न समेत जटिल भएको छ । गएको चार महिनादेखि कर्मचारी न्यून भएको कारण सेवाग्राहीको चाप बढ्दै गएको छ । जसका कारण नागरिकता बनाउन टोकन प्रणाली सुरु गर्नु परेको सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताउनुभयो । अहिले असोज २० गते नागरिकता पालो आउने गरी टोकन बाँडिएको नेपालीले बताउनुभयो ।

छोरी ईशा रानाको नागरिकता बनाउनको लागि भदौ २८ गते कार्यालय पुगेकf थिए । भीडभाड धेरै भएको कारणले टोकन कर्मचारीले टोकन दिएर गेटबाट फिर्ता गर्नुभयो । असोज १५ गते कागजात लिएर आउने गरी टोकन पाएको बुद्धभुमि २ का टङ्क रानाले बताउनुभयो । छोरीलाई कम्प्युटरको निःशुल्क तालिमको लागि नागरिकता अनिवार्य चाहिने भएकोले कार्यालय पुगेको थिए । नागरिकता बनाउन कै लागि आधा महिना समय कुर्न पर्दा समस्या भएको रानाको गुनासो छ ।

कार्यालयमा ३३ जना कर्मचारीको दरबन्दी मध्ये ११ जना कर्मचारी रिक्त  छन् । दरबन्दी अनुसार तीनजना प्रशासकीय अधिकृतको हुनु पर्ने भए पनी कार्यालयमा प्रशासकीय अधिकृत बिहिन हुन पुगेका छन् । दुई जना प्रशासकीय अधिकृत मध्ये एक जनाको तीन महिना र एक जनाको तीन साता अघि सरुवा भए पनि कार्यालयमा हाजिर हुन आएका छैनन् । यसै गरी १० जना नासुको दरबन्दीमा चार जना रिक्त छन् । एक जनाको सरुवा भए पनि कार्यालय सञ्चालन गर्न असहज भएको कारणले सरुवा रोकिएको नेपालीले बताउनु भयो । पाँच जना खरदारको हुनु पर्ने भए पनि चार जना रिक्त छन् ।

कार्यालयमा नागरिकता बनाउनको लागि दैनिक तीन सय जना आउने गरेका छन् । हालको क्षमता अनुसार दैनिक एक सय जनालाई मात्र नागरिकता बाँड्न सकिएको छ । कर्मचारी नहुँदा कार्यालय सहयोगी समेत काममा खटिएका छन् । सम्बन्धित कर्मचारी नहुँदा कार्यालय सहयोगी खटिदा नागरिकता वितरण जस्तो सम्वेदनशील कार्यमा कमजोरी हुन सक्ने देखिएको अधिकारकर्मी शिवलाल यादवले बताउनु भयो ।

तपाईको प्रतिक्रिया