प्रदेश २ सरकारमा नेकपा एस सहभागी हुँदै, प्रदेश सभासदस्य महतोको नेतृत्व सरकारमा सामेल हुने निर्णय

  भदौ २८, २०७८

ढल्केवर, भदौ २८ : प्रदेश २ मा चौथो ठूलो दलको रुपमा देखिएको नेकपा एकीकृत समाजवादी पार्टीले प्रदेश २ सरकारमा सहभागी हुने निर्णय गरेको छ । धनुषाको लालगढमा सोमबार नेकपा एकीकृत समाजवादीको प्रदेश संगठन कमिटीको बिशेष बैठकले प्रदेश सभासदस्य सत्रुधन महतोको सहभागितामा प्रदेश सरकारमा हुने निर्णय गरेको हो ।

मन्त्रालयको बिषयमा मुख्यमन्त्री लालबावू राउतसँगको छलफल पश्चात टुङ्गो लाग्ने पार्टीका धनुषा जिल्ला सचिव सोमप्रसाद शर्माले बताउनुभयो । कमिटीको बिशेष बैठकले पार्टीको प्रदेश सभामा संसदीय दलको नेतामा प्रदेश सभासदस्य महतोलानाई नै रोजेका छन ।

पार्टीका प्रदेश अध्यक्ष धर्मनाथ साहको प्रमख आथित्यमा बसेको बिशेष बैठकले पार्टी निर्माणका सन्दर्भमा समेत छलफल गरेको छ । प्रदेशको आठ वटै जिल्लाका जिल्ला तथा पालिकास्तरीय किमिटी निर्माण गर्ने र सँगसँगै केही जिल्लाहरुको किमिटीमा पदपुर्ति गर्ने निर्णय भएको सचिव शर्मालो जानकारी गराउनुभयो ।

नेकपा एकीकृत समाजवादी पार्टीमा १३ जना प्रदेश सभासदस्य छन् । नेकपा एमालेबाट विभाजन भएर बनेको एकीकृत समाजवादी पार्टीमा १३ जना प्रदेश सांसदले सनाखत गरेपछि प्रदेश २ मा चौथो ठूलो दल बनेका छ्न् ।

नेकपा एमालेमा समानुपातिकसहित २१ जना प्रदेश सभासदस्य मध्ये १३ जना प्रदेश सभासदस्यले नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गर्नभएको थियो । यसैगरी जानकारहरुका अनुसार नेकपा एकीकृत समाजवादीलाई वाणिज्य आपूर्ति र प्रदेश सभा मामिलासहितका दुई मन्त्रालयकोबारे छलफल भइरहेको छ ।

यसअघि जसपा नेतृत्वको प्रदेश नं. २ सरकारमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सहभागी भइसकेको छ । प्रदेश नं २ मा रहेको ११ मन्त्रालयमध्ये जसपाका चार, कांग्रेसका तीन र माओवादीका एक मन्त्री छन् । बाँकी मन्त्रालय मुख्यमन्त्री लालबाबु राउत आफूसँगै राख्नुभएको छ ।

तपाईको प्रतिक्रिया