नेपालले लिग-२ को पहिलो खेलमा आज अमेरिकाको सामना गर्दै

  भदौ २८, २०७८

काठमाडौं, भदौ २८ : नेपालले त्रिकोणात्मक श्रृखंला अन्तगर्तको पहिलो खेलमा आज अमेरिकाको सामना गर्दैछ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तगर्त ओमान सम्मिलित प्रतियोगिताको पहिलो खेलमा नेपालले अमेरिकाको सामना गर्न लागेको हो । ओमानको राष्ट्रिय क्रिकेट एकेड्मीको अल एमिरात क्रिकेट ग्राउन्डमा बेलुकी सबा चार बजे नेपाल र अमेरिकाबीचको खेल सुरु हुनेछ । दुबै टोलिले मैत्रीपूर्ण खेलमा पपुवान्यूगिनीलाई हराएर प्रतियोगिताको सुरुवात गर्दैछ ।

लिग–२ मा नेपाल
कोभिड १९ को महामारीले पटक पटक स्थगित हुन पुगेको प्रतियोगिता करिब डेढ वर्षपछि खेलाइदैछ । लिग–२ मा नेपालले सबैभन्दा कम खेल खेलेको छ । हालसम्म नेपालले चार खेल मात्रै खेल्न सम्भब भएको छ । जसमध्ये दुईमा जित हात पारेको छ भने दुई खेलमा हार बेहोरेको छ । नेपालले चार अङ्क बटुल्न सकेको छ । लिग–२ अन्तगर्त ओमानमा हुन लागेको प्रतियोगितामा तीन वटै टोलिले चार चार खेल खेल्नेछ । नेपालले अङ्कतालिकामा उल्लेख्य प्रगति गर्ने अबसरको रुपमा यस प्रतियोगितालाई लिएको छ ।

नेपाल हाल अङ्क तालिकाको छैठौं स्थानमा छ । लिग–२ मा कुल सात टोलि छन् । शीर्ष स्थानमा ओमान छ । तर उसले दोस्रो सबैभन्दा बढी खेल खेलेको छ । ओमान दशमध्ये आठमा जित हात पार्दै अङ्क तालिकाको शीर्ष स्थानमा छ । नेपालले आज सामना गर्न लागेको टोलि अमेरिका हो । अमेरिकाले सबैभन्दा बढी १२ खेल खेल्दा मात्र छ मा जित हात पार्न सकेको छ । ऊ १२ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ ।

तेस्रो स्थानमा स्कटल्याण्ड, चौथोमा नामीबिया र पाँचौं स्थानमा यूएई छ । स्कल्याण्डले आठ खेलमध्ये चारमा जित हात पार्दा नामीबियाले सातमध्ये चार खेलमा र यूएईले सातमध्ये तीन खेल जितेको छ । सबैभन्दा पूछारमा पपूवा न्यूगिनी छ । उसले आठ मध्ये कुनै खेल जित्न सकेको छैन् । नेपालले पछिल्लोपटक घरेलु मैदानमा अमेरिका विरुद्धको दुबै अन्तर्राष्ट्रिय एकदिबसीय खेल जितेको थियो । पछिल्लो खेलमा अमेरिकी क्रिकेट टोलि मात्र ३५ रनमा समेटिन पुगेको थियो । जसमा सन्दीप लामिछाने एक्लैले छ विकेट लिनुभएको थियो । आज हुने खेलमा सन्दीपको उपस्थितिले समेत अमेरिकी टोलिमाथि मनोवैज्ञानिक दबाब कायम राख्नेछ ।

अमेरिका विरुद्ध नेपालले खेलेको पछिल्लो खेलमा पारस खडका, सुभाष खकुरेल, र दीपेन्द्रसिंह ऐरी टोलिमा रहनुहुने छैन् । तर कुशल भुर्तेल, आशिफ शेष, रोहित पौडेल जस्ता युवा प्रतिभाको प्रदर्शनले नेपाली टोलि उत्साहित छ । यद्दपी आसिफ र कुशलको जोडीले पपूवा न्यूगिनी विरुद्धको दुबै खेलमा गरेको कमजोर प्रदर्शन नेपालको लागि चिन्ताजनक छ । अमेरिकाले नेपाल विरुद्ध पछिल्लो दुई खेलमा बेहोरेको हारको बदला लिन प्रयासरत रहनेछ । नेपालले भने अमेरिका विरुद्धको आफ्नो उक्त प्रदर्शनलाई निरन्तरता दिन प्रयत्नशील रहनेछ ।

नेपालको चिन्ता
युवा जोडी आसिफ शेष र कुशल भुर्तेलको ओपनिङ जोडी लयमा देखिएका छैन् । पपूवान्यूगिनी विरुद्धको दुबै अन्तर्राष्ट्रिय एकदिबसीय खेलमा ओपनरद्वयले ठूलो साझेदारी गर्न सकेनन । नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक टी ट्वान्टी श्रृखंलामा कुशल र आसिफको उत्कृष्ट प्रदर्शनले नेपालको ब्याटिङ सशक्त देखिएको थियो । अमेरिका विरुद्धको खेलमा समेत यी दुई ब्याट्सम्यान लयमा आउनु जरुरी देखिन्छ ।

नेपालको अर्को चिन्ताको विषय मध्यक्रम हो । मध्यक्रममा दीपेन्द्र सिंह ऐरीको अनुपस्थितिले नेपालको चिन्ता थपेको छ । पपूवान्यूगिनी विरुद्धको दुबै खेलमा मध्यक्रम धराशायी हुन पुगेको थियो । पूछारमा रोहित पौडेलको उत्कृष्ट ब्याटिङले नेपालले खेलमा पुनरागमन गरेको थियो । मध्यक्रम लयमा नहुँदा आज हुने अमेरिका विरुद्धको खेलमा रोहित पौडेल पुनः मध्यक्रममै ब्याटिङ गर्न आउने सम्भाबना छ ।

सशक्त बलिङ
नेपाली क्रिकेट पुनः पुरानै बिरासतमा फर्किएको देखिन्छ । पपूवान्यूगिनी विरुद्धको दुबै अन्तर्राष्ट्रिय एकदिबसीय खेल नेपालले कसिलो बलिङकै जगमा जितेको हो । जसमा सन्दीप लामिछाने र बिक्रम सोबले उत्कृष्ट प्रदर्शन गर्नुभयो । आज अमेरिका विरुद्धको खेलमा समेत सन्दीप, विक्रम र सोमपालको तिकडीमा नेपालको बलिङ आश्रित रहनेछ । यद्दपी तीब्र गतिका युवा बलर गुलशन झालाई नेपाली टोलि ब्यवस्थापनले परीक्षण गर्न बाँकी नै छ ।

तपाईको प्रतिक्रिया