कालीगण्डकी करिडोरमा ठूलो पहिरो, सडक अवरुद्ध

  भदौ १९, २०७८

तम्घास, भदौ १९ : कालीगण्डकी करिडोर पहिरोका कारण अवरुद्ध भएको छ । कालीगण्डकी करिडोर अन्र्तगतको हर्मिचौर अर्बेनी सडक खण्डको गर्गरे भीरमा माथिबाट ठूलो पहिरो खसेकाले सडक अवरुद्ध भएको छ ।

सडक अवरुद्ध हुँदा बुटवलदेखि कालीगण्डकी गाउँपालिकाको केन्द्र पुर्तिघाटसम्म जाने सवारीहरु र पुर्तिघाटदेखि बुटवलसम्म जाने सवारीहरु चल्न सकेका छैनन् ।

शुक्रबार रातिबाट पहिरो पन्छाउनका लागि शनिबार विहानबाट डोजर लगाइएको कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष तारा थापाले जानकारी दिनुभयो । पहिरो निकै ठूलो भएकाले पहिरो पन्छाउन समय लाग्ने थापाले बताउनुभयो ।

वर्षा नभए शनिबार साँझसम्म सडक खुलाउन सकिने थापाले बताउनुभयो । वर्षा भयो भने शनिबार साँझसम्म पनि सडक खुल्ने सम्भावना कम हुने कालीगण्डकी गाउँपालिकाले जनाएको छ ।

नेपाली सेनाको सहयोगमा अहिले पहिरो पन्छाउने कार्य भइरहेको छ ।

तपाईको प्रतिक्रिया