प्रहरी प्रतिष्ठान नसार्न १४ पूर्वमहानिरीक्षकको आग्रह

  साउन २१, २०७८

काठमाडौँ, साउन २१ : नेपाल प्रहरीका १४ जना पूर्वमहानिरीक्षकले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (पुलिस एकेडेमी) स्थानान्तरण नगर्न आग्रह गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँग बुधबार बालुवाटारस्थित निवासमा भेट गरेर पूर्वप्रहरी महानिरीक्षकहरूले यस्तो आग्रह गर्नुभएको हो । पूर्वप्रहरी महानिरीक्षक मोतिलाल बोहोराको नेतृत्वमा ११ जना पूर्वप्रहरी महानिरीक्षकले उक्त आग्रहयुक्त ज्ञापनपत्र बुझाउनुभएको हो । ज्ञापनपत्रमा भने १४ पूर्वप्रहरी महानिरीक्षकको हस्ताक्षर छ ।

प्रहरी सङ्गठनलाई दूरगामी असर पुग्ने निर्णयका कारण ‘प्रहरी प्रशिक्षण प्रतिष्ठान जोगाऔँ’ अभियान सञ्चालन गर्नुपर्ने बाध्यता आएको भन्दै पूर्वमहानिरीक्षक बोहोराले प्रतिष्ठान अन्यत्र नसार्न आग्रह गर्नुभएको थियो । त्यस क्रममा प्रधानमन्त्री देउवाले प्रहरी प्रशिक्षण प्रतिष्ठान सार्ने निर्णयलाई गम्भीर रूपमा लिँदै यस सम्बन्धमा छलफल गर्ने आश्वासन दिनुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव बद्री तिवारीले बताउनुभयो ।

राष्ट्रपति कार्यालयको सुविधा विस्तारका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ साल भदौ २१ गते प्रहरी प्रतिष्ठान अन्यत्रै सार्ने निर्णय गरेको थियो । सो जग्गामा हेलिप्याड र विदेशी विशिष्ट पाहुनाका लागि आवास गृह बनाउने निर्णय गरिएको थियो । त्योे निर्णयले बहालवाला तथा पूर्वप्रहरी कर्मचारीहरूको ऐतिहासिक एवं भावनात्मक सम्बन्धमा चोट पु-याएको गुनासो गर्दै पूर्वमहानिरीक्षक बोहोराले तालिम केन्द्र सार्ने निर्णय तत्कालै खारेजीको माग गर्नुभयो ।

करिब १३० रोपनी तीन आना क्षेत्रफलमा फैलिएको प्रहरी तालिम केन्द्र प्रहरी कर्मचारीका पूर्खाहरूको रगत–पसिनाले आर्जेको भौतिक सम्पत्ति भएकाले एउटा संस्थाको सुविधाका लागि अर्को संस्थालाई विस्थापित गर्ने कार्य प्रभावकारी नहुने सुझाव उहाँहरूको छ । राष्ट्रपति कार्यालयको सुविधा विस्तारका नाममा तत्कालीन सरकारले गरेको सो निर्णय अदूरदर्शी, अव्यावहारिक र अवैज्ञानिक भएको आरोप पनि पूर्वमहानिरीक्षकहरूको छ ।

प्रधानमन्त्री देउवासमक्ष बुझाइएको ज्ञापनपत्रमा भनिएको छ–“हचुवाको भरमा गरिएको निर्णयले प्रहरी कर्मचारीको भावनामा ठेस पुग्नुका साथै राष्ट्रका लागि ऊर्जावान् र नेतृत्वदायी सुरक्षा जनशक्ति निर्माणमा आघात पुग्ने देखिएको छ ।” नेपाल प्रहरी पूर्वसङ्गठन प्रमुख मञ्चको तर्फबाट ज्ञापनपत्रमा पूर्वप्रहरी महानिरीक्षकहरू दुर्लभकुमार थापा, मोतीलाल बोहोरा, अच्युतकृण्ण खरेल, ध्रुवबहादुर प्रधान, प्रदीपशमशेर राणा, श्यामभक्त थापा, ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेश चन्द ठकुरी, रवीन्द्रप्रताप शाह, कुबेरसिंह राना, उपेन्द्रकान्त अर्याल, प्रकाश अर्याल, सर्वेन्द्र खनाल र ठाकुरप्रसाद ज्ञवालीसहित १४ जनाको हस्ताक्षर छ ।

स्मरणीय छ, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको स्तरवृद्धि गरी नामकरणसहितको स्मारक स्तम्भको विधिवत् उद्घाटन तत्कालीन अवस्थामा गृहमन्त्रीको हैसियतले प्रधानमन्त्री देउवाले नै गर्नुभएको थियो । भारत सरकारको सहयोगमा काभ्रेको पनौतीमा निर्माणाधीन प्रहरी तालिम प्रतिष्ठानको निर्माण कार्य अपेक्षाअनुरूप अगाडि बढ्न सकेको छैन । आवासीय सुविधासहितको निर्माणाधीन तालिम केन्द्र उपयुक्त नभएको भनाई पूर्वप्रहरी प्रमुखहरूको छ । 

तपाईको प्रतिक्रिया