१८ वर्षमाथिका सबैलाई खोप लगाउने दोस्रो जिल्ला बन्यो मुस्ताङ

  साउन २०, २०७८

बेनी, साउन २० : हिमालपारिको जिल्ला मुस्ताङले १८ वर्ष माथिका सबै नागरिकले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालय मुस्ताङका निमित्त प्रमुख टीकाराम भण्डारीका अनुसार जिल्ला भित्रका १८ वर्ष पुरा गरेका सबै नागरिकले कोभिड–१९ विरुद्धका खोप लगाएका हुन् । अहिलेसम्म नौ हजार ५ सय ८ जना नागरिकले पूरा मात्रा खोप लगाइ सकेका छन् ।

‘जिल्ला भित्रका लक्षित वर्ग हेर्दा स्थानीय नागरिक सबैलाइ खोप लगाइसकिएको छ कहीँ कतै न्यून मात्रामा छुटेका हुन सक्लान् नलगाएकाहरु भएमा सम्पर्कमा आए भने हामीले तिनीहरुलाई पनि छिट्टै लगाउँछौं,’ भण्डारी भन्नुहुन्छ – ‘अब १८ वर्षमाथिका नागरिकहरु खोप लगाउन छुटेका छैनन् । खोप केही मात्रा हामीसँग मौज्दात पनि रहेकोले सबै नागरिकले खोप पाउँछन् ।’

जिल्ला खोप अनुगमन तथा समन्वय समितिको बैठकको निर्णय बमोजिम नै खोप लगाइएको र जिल्लाभित्र कुनै पनि दुरूपयाेग नभएको भण्डारीले बताउनुभयो । भेरोसेल खोप पहिलो डोज लगाएका २४२ दोस्राे डोज लगाउन बाँकी भए पनि लक्ष्यित वर्ग सबै खोपको दायरामा आइसकेका छन् ।

मुस्ताङमा हाल सम्म ५१८ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएकोमा अहिले २० जना सक्रिय सङ्क्रमित छन् । एक जना छोसेर कोभिड अस्पतालमा उपचाररत छन् भने अन्य सबै सक्रिय सङ्क्रमितहरु होम आइसोलेसनमा छन् । मुस्ताङ जिल्लामा कोभिड–१९ को संक्रमणबाट अहिलेसम्म १५ जनाको मृत्यु भएको छ ।

हालसम्म मुस्ताङ जिल्लाभित्र पिसिआर विधिबाट २२३ जनाको परीक्षण गर्दा ११२ जनामा र एन्टीजेन विधिबाट २ हजार ७ सय १७ जनाको परीक्षण गर्दा ४०६ जनामा कोभिड–१९ पोजिटिभ पाइएका यस अघि मनाङमा १८ वर्षमाथिका सबैलाइ खाेप लगाएर पहिलाे जिल्ला बनेकाे थियाे । 

तपाईको प्रतिक्रिया