बाँकेमा फेरि बढ्दैछ कोरोना सङ्क्रमण, अस्पतालमा थपिए बिरामी

  साउन १९, २०७८

बाँके, साउन १९ : भेरी अस्पताल नेपालगञ्जमा कोभिड सङ्क्रमित बिरामीहरुको सङ्ख्या फेरि बढ्न थालेको छ । नयाँ सङ्क्रमितको सङ्ख्या समेत साउन दोस्राे सातादेखि बढ्न थालेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका सम्पर्क ब्यक्ति तेज वलीले जानकारी दिनुभयो ।

अहिले फेरी सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ , वलीले भन्नुभयो, समुदायस्तरमा कोभिडविरुद्ध सावधानी अपनाउन जरुरी देखिएको छ । भेरी अस्पताल नेपालगञ्जमा साउनको ५ गते कोभिड सङ्क्रमित बिरामी १८ जनाको उपचार भइरहेकोमा सोमबारसम्म अस्पतालमा उपचाररत कोभिड सङ्क्रमितको सङ्ख्या ३७ पुगेको छ । जिल्लाका प्रयोगशालामा भइरहेका परीक्षणमा प्रत्येक दिन नयाँ सङ्क्रमितको सङ्ख्या थपिने गरेको छ ।

जिल्लामा कोभिड सङ्क्रमणको दर घटे पनि जोखिम कायमै रहेको भन्दै निषेधाज्ञा कायमै राखिए पनि सार्वजनिक विद्यालय, सभा सम्मेलन बाहेक अन्य कार्यमा छुट दिइएको छ । तर नेपालगञ्ज र आसपासका क्षेत्रमा सामाजिक दूरी कायम नभई भिडभाड भएको र अधिकाँश ब्यक्तिहरु मास्क बिना नै आवागमन गर्न थालेपछि बाँकेमा फेरि कोभिडको जोखिम बढेको भन्दै सचेतनामुलक अभियान समेत सञ्चालन भईरहेका छन् ।

वैशाखको मध्यतिर उच्च गतिमा बढेको कोरोनाको दोस्राे चरण त्यसपछि विस्तारै कम हुन थालेकोमा फेरी सङ्क्रमण बढ्न थालेको अस्पताल र प्रयोगशालाको तथ्याङ्कले देखाएको छ । सोमबार १५२ जनाको पिसिआर परीक्षण भएकोमा २६ जनामा सङ्क्रमण देखिएको छ । बाँकेमा कोभिड सङ्क्रमण बढ्न थाले पनि जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले सम्भावित तेस्राे लहरको कोभिडसँग सामना गर्नका लागि आवश्यक पूर्व तयारी सुरु गरेको जनाएको छ ।

बाँकेको भेरी अस्पतालमा कोभिड सङ्क्रमितको उपचारका लागि कोभिड वार्ड सञ्चालनमा छ । अन्य निजी अस्पताल र स्थानीय तहमा समेत कोभिड वार्डको व्यवस्थापन गरिएको छ । कोभिडबाट बाँकेका ३२२ जना र बाहिरी जिल्लाका ३७७ जना गरी ६९९ जनाको निधन भएको छ ।

तपाईको प्रतिक्रिया