लुम्बिनी प्रदेशमा जसपाका तीन सांसद पदमुक्त

  साउन १५, २०७८

बुटवल, साउन १५ : लुम्बिनी प्रदेश सभामा जनता समाजवादी पार्टी (जसपा) का तीनजना प्रदेश सभा सदस्यको पद गुमेको छ । प्रदेश सभा सचिवालयले शुक्रवार एक सूचना जारी गर्दै प्रदेश सभा सदस्यहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डे (लम्साल) प्रदेश सभा सदस्यबाट पदमुक्त भएको उल्लेख गरिएको छ ।

जनता समाजवादी पार्टीका प्रदेश संसदीय दलका नेता सहसराम यादव र प्रमुख सचेतक पुरमती ढेँगा मगर सहित पार्टीका नेताहरूले तीनजना सांसदलाई पार्टीले कारबाही गरेको पत्र बिहीबार प्रदेश सभा सचिवालयमा दर्ता गराउनु भएका थियो । प्रदेश सभाले सोही पत्रलाई आधार बनाउँदै उहाँहरु सांसदको पदमा नरहेको सूचनामार्फत जानकारी गराएको हो ।

प्रदेश सरकारले प्रदेश सभामा पेस गरेको नीति तथा कार्यक्रम पारित नगर्न पार्टीले लगाएको ह्वीप उल्लङ्घन गरेपछि ती तीनैजना सांसदलाई पार्टीले गत जेठ ३० गते स्पष्टीकरण सोधेको र स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार पार्टीले कारबाही गरेको जसपा संसदीय दलका नेता सहसराम यादवले बताउनुभयो ।

यसअघि पार्टीको निर्णय विपरीत जसपाका चारजना प्रदेश सभा सदस्य प्रदेश सरकारमा सहभागी हुनुभएका थियो । तीमध्ये सुमन शर्मा रायमाझीले राज्यमन्त्रीबाट राजीनामा दिएपछि उहाँ कारवाहीबाट जोगिनुभएको हो ।

तपाईको प्रतिक्रिया