बाँकेस्थित डुडुवा खोलाको बाँधमा पौडी खेल्न गएका तीन युवाको डुबेर मृत्यु

  साउन ०६, २०७८

नेपालगञ्ज, साउन ६ : बाँकेको कोहलपुरमा रहेको डुडुवा खोलाको बाँधमा पौडी खेल्ने क्रममा डुबेर नेपालगञ्जका तीन युवाको मृत्यु भएको छ । मुस्लिम समुदायको महान पर्व बकराईदका दिन कोहलपुर, १० मा रहेको उक्त स्थानमा रमाइलो गर्ने उदेश्यले नेपालगञ्ज ११ बाट गएका पाँचजना युवा बुधबार दिउँसो पौडी खेल्ने क्रममा खोलामा डुब्दा मृत्यु भएको र दुई युवकलाई प्रहरीले उद्धार गरेर बचाएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रविन्द्र खनालका अनुसार मृत्यु हुनेमा नेपालगञ्ज ११ का १८ वर्षीय रसिद जसगढ, १८ वर्षीय अरमान जसगढ र १७ वर्षीय आरिभ जसगढ रहेका छन् । उनिहरुसँगै रहेका ईरफान जसगढ र अहमन जसगढलाई प्रहरीले उद्धार गरेर जोगाउन सफल भएको डीएसपी खनालले बताउनुभयो ।

पौडी खेल्ने क्रममा युवा डुबेको खबर पुग्ने वित्तिकै कोहलपुर प्रहरीको टोलीले त्यहाँ पुगेर खोजी गर्दा तीन जना मृत अवस्थामा फेला पारेका थिए । दुई जनाको उद्धार गर्न सकिएको प्रहरीले जनाएको छ । प्रहरीले आवश्यक प्रक्रिया पु.याएर तीनै जनाको शवलाई पोस्टमार्टमको लागि भेरी अस्पताल नेपालगञ्ज पठाएको पनि ईलाका प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया