मन्त्रिपरिषद् बैठक : सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

  साउन ०४, २०७८

काठमाडौँ, साउन ४ : सरकारले सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । गत जेठको अन्तिम दिन र असार १ गतेको बाढीपहिराका कारण ती दुई जिल्लामा जनधनको ठूलो क्षति भएको थियो ।

सिन्धुपाल्चोकको मेलम्चीमा बाढीका कारण मेलम्ची बजार नै संकटमा परेको छ । उता मनाङको ताल बजार तथा अन्य स्थानमा समेत बाढीपहिराको चपेटामा परेको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले ती दुई जिल्लालाई आगामी असोज मसान्तसम्म विपद संकटग्रस्त जिल्ला घोषणा गरेको कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

मित्र राष्ट्रलाई धन्यवाद, खोप उपलब्ध गराउन आग्रह
बैठकले कोरोना विरुद्धको खोप तथा स्वास्थ्य सामग्री उपलब्ध गराएका सबै मित्र राष्ट्रलाई धन्यवाद दिएको छ । कोरोना विरुद्धको लडाइँमा नेपाललाई विभिन्न मित्र राष्ट्रले स्वास्थ्य सामग्री र खोप उपलब्ध गराएका छन् ।

त्यसैगरी, सरकारले खोप उत्पादक देशलाई अनुदान वा खरिदमार्फत कोरोना विरुद्धको खोप उपलब्ध गराइदिन आग्रह गरेको सरकारका प्रवक्ता रहनुभएका मन्त्री कार्कीले जानकारी दिनुभयो ।

चीन सरकारले नेपालाई दुई चरणमा गरेर १८ लाख मात्रा खोप अनुदानमा उपलब्ध गराएको छ । यस्तै, थप परिमाण भने सरकारले खरिद गरेको छ । भारतबाट नेपाली सेनालाई गरी ११ लाख मात्रा खोप अनुदानमा प्राप्त भएको छ ।

अमेरिकाले नेपाललाई कोभ्याक्स कार्यक्रममार्फत १५ लाख ३४ हजार ८५० मात्रा खोप उपलब्ध गराएको छ । ती देशबाट प्राप्त खोप निरन्तर लगाइ राखिएको छ ।

साउन ६ गते सार्वजनिक बिदा
सरकारले मुस्लिम धर्मावलम्बीको पर्व ‘बकर इद’ को अवसरमा यही साउन ६ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मुस्लिम धर्मावलम्बीले आफूहरुको महत्वपूर्ण पर्वको अवसरमा सार्वजनिक बिदा दिन सरकारसँग माग गरेका थिए । सोही मागका आधारमा सरकारले बिदा दिने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिनुभयो ।

सरकारले भारतमा साताको तीन उडान गर्ने निर्णय गरेको छ । कोरोनाका कारण नियमित उडान तालिका यसअघि तलमाथि भएको थियो । हाल भारतमा साताको दुई उडान भइरहेको थियो । मन्त्रिपरिषद्को निर्णयपछि थप उडान हुनेछ ।

तपाईको प्रतिक्रिया