प्रदेश २ मा माओवादी केन्द्र सरकारमा जाँदै, आजै शपथ

  साउन ०२, २०७८

काठमाडौं, साउन २ : प्रदेश २ को मन्त्रीमण्डलमा हेरफेर हुने भएको छ । गत जेठ महिनामा नेपाली काँग्रेस तीन मन्त्रालय पाएर प्रदेश २ सरकारमा सहभागी भएको थियो । तत्कालै सरकारमा सहभागी गराउने प्रयत्न भए पनि मन्त्रालयको विषयमा सहमति जुटन नसक्दा माओवादी केन्द्र सरकारमा सहभागी भएन । अहिले आएर माओवादी केन्द्र एक मन्त्री र एक राज्य मन्त्री लिएर सरकारमा जान लागेको प्रदेश सभा सदस्य एवम् माओवादी केन्द्रका सचेतक भरत साहले जानकारी दिनुभयो ।

माओवादी केन्द्रबाट भरत साहले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको जिम्मेवारी पाउनुहुने भएको छ । उहाँ महोत्तरीबाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य हुनुहुन्छ । त्यसैगरी, सप्तरीकी रुबी कर्णले राज्य मन्त्रीको जिम्मेवारी पाउनुहुने साहले जानकारी दिनुभयो । माओवादी केन्द्र प्रदेश २ सरकारमा जाने भएपछि आन्तरिक मामिला तथा सञ्चार मन्त्री ज्ञानकुमार यादबले राजीनामा दिनुभएको छ । उहाँ जनता समाजवादी पार्टीका प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य हुनुहुन्छ । यादवले संघीय सरकारमा बनेको गठवन्धनलाई निरन्तरता दिन प्रदेशमा सोही बमोजिमको समीकरण तयार भएको बताउनुभयो ।

माओवादी केन्द्रका हाल प्रदेश २ मा आठ जना सदस्य छन् । नेकपा एमाले र माओवादी केन्द्र छुट्टिएपछि एमालेमा प्रवेश गरेको प्रदेश सभा सदस्यहरुलाई माओवादी केन्द्रले कारवाही गर्दा हाल आठ जना प्रदेश सभा सदस्य माओवादी केन्द्रका छन् । माओवादी केन्द्रका प्रदेश सभा सदस्य भरत साहले आजै तीन बजे प्रदेश प्रमुखको कार्यालयमा मन्त्री पदको शपथ लिने तय भएको बताउनुभएको छ । यसअघि तत्कालीन राजपाका एक मन्त्री र तीन राज्य मन्त्रीले राजीनामा गरेपछ रिक्त रहेको मन्त्रालयको जिम्मेवारी काँग्रेसले पाएको थियो । तत्कालीन राजपाका २५ र संघीय समाजवादी पार्टीका २९ जना प्रदेश सभा सदस्यको बहुमतबाट प्रदेश २ सरकारको गठन भएको थियो ।

तपाईको प्रतिक्रिया