मनाङबाट १७४ जनाको हेलिकोप्टरबाट उद्धार

  असार ०५, २०७८

लमजुङ, असार ४ : बाढीका कारण हिमाली जिल्ला मनाङको लेक तथा वस्तीमा अलपत्र परेका १७४ जनाको हेलिकोप्टरमार्फत उद्दार गरिएको छ ।  शुक्रबार १३९ जना र बिहीबाटर ३५ जनाको उद्दार गरिएको मनाङ प्रशासनले जनाएको छ । विघटित प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङको पहलमा मनाङको सबैभन्दा विकट नार्पाभूमि गाउँपालिकाको फू गाउँको लेकबाट ५६ जनाको उद्दार गरिएको छ ।

यार्सागुम्बा संकलनका लागि गएका उनीहरु फू गाउँदेखि दुई दिन लाग्ने लेकमा अलपत्र परेको र पोल्देन छोपाङसहितको टोलीले उद्दार गरेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताउनुभयो । उहाँका अनुसार फू गाउँ क्षेत्रको नामयुङ लेक, कुलुङ र लघु लेकबाट ५६ जनाको अल्टिच्युट हेलिकप्टरमार्फत उद्दार भएको छ ।

समुद्री सतहदेखि करीब पाँच हजार मिटर उचाईको लेकाली क्षेत्रबाट उद्दार भएका ५३ जना फू गाउँ र ३ जनालाई चाामेमा ल्याइको छ । फू क्षेत्रकै लेकमा यार्सा टिप्नका लागि गएका अन्य २४ जना सम्पर्कमा आएको र उनीहरुले सुरक्षित रहेको जानकारी गराएको प्रजिअ लामिछानेले बताउनुभयो । उनीहरु जेठ १५/१६ गतेतिर लेक गएका थिए । उनीहरुले सुरक्षा दिन नपर्ने र पछि आफैं फर्कने बताएका छन् ।

यस्तै, शुक्रबार नै नासों गाउँपालिका ८, ताचैबाट ५५ जना उद्दार गरिएको छ । १६ जनालाई दानाक्युमा राखिएको छ । अरुलाई चामेमा ल्याइएको छ । यस्तै, ओडारगाउँबाट २८ जना र तालगाउँबाट ५ जनाको उद्दार गरेर चामे ल्याइएको प्रजिअ लामिछानेले बताउनुभयो ।
उद्दार गरिएकामध्ये केही बिरामी, केही बृद्धबृद्धा, अपांगता भएका, अशक्त गरी २८ जनालाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । काठमाडौंमा लगिएकाहरु आफ्ना आफन्तकोमा गएको र केहीको उपचार गरिने भएको छ ।

मनाङमा सोमबार रातीदेखि परेको अबिरल बर्षाका कारण ताल गाउँ पुरै डुबानमा छ । चामे गाउँपालिकाको केही घरहरु डुबानमा परेको छ । धारापानीमा सरकारी कार्यालय, प्रहरी चौकी, बैंक, गाउँपालिका कार्यालय, स्वास्थ्य चौकी बगाएको छ । ५३ घर पूर्ण क्षति भएको र २ सय घर जोखिममा रहेको प्रारम्भिक आँकडा रहेको छ ।

तपाईको प्रतिक्रिया