एमाले संसदीय दलको बैठक : मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन

  असार ०४, २०७८

कर्णाली, असार ४ : नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलको बैठकले नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकारका सहभागी तीन मन्त्रीलाई तत्काल पदबाट राजीनामा दिन निर्देशन दिएको छ । पार्टी ह्विप विपरीत फ्लोर क्रस गरेका नेता प्रकाश ज्वालासहित आज बसेको दलको बैठकले तीन मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको हो ।

गत वैशाख ३ गते एमाले प्रदेशसभा सदस्य ज्वालासहित अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिं बुढाले माओवादी केन्द्रका नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएर फ्लोर क्रस गर्नुभएको थियो । फ्लोर क्रस गरेपछि एमालेले प्रदेशसभा सदस्य र पार्टीको साधारण सदस्य नरहने गरी उहाँहरु चार जनालाई निष्कासन गरेको थियो । सर्वोच्च अदालतले एमाले संसदीय दलकै सदस्यका रुपमा काम गर्न दिनू भन्ने अन्तरिम आदेश दिएपछि उहाँहरु पुनस्र्थापित हुनुभएको हो ।

दलका नेता यामलाल कँडेलको अध्यक्षतामा बसेको बैठकले मन्त्रीत्रय थापा, शाही र बुढालाई राजीनामा दिएर प्रतिपक्षी भूमिकामा बस्न निर्देशन दिएको हो । सरकारमा थापा भौतिक पूर्वाधार तथा शहरी विकास, शाही भूमि व्यवस्था, कृषि तथा सहकारी र बुढा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री हुनुहुन्छ ।

दलका नेता कँडेलले सर्वोच्च अदालतको आदेशमा संसदीय दलको सदस्यका रुपमा पुनस्र्थापित गरी वैशाख १ गते र आजको बैठकमा पटक–पटक बोलाउँदा पनि अनुपस्थित भई दलीय व्याख्याको आचरणविरुद्ध माओवादी नेतृत्वको सरकारमा सहभागी रहेकाले तत्काल राजीनामा दिई संसदीय दलको सदस्यका रुपमा भूमिका निर्वाह गर्न निर्देशन दिने निर्णय भएको बताउनुभयो ।

त्यस्तै बैठकले संसदीय दलका नेता कँडेललाई प्रदेशसभा सदस्यलाई गरिएको कारबाहीका सम्बन्धमा सर्वोच्च अदालतले गत जेठ ३१ गते पठाएको पत्रअनुसार लिखित जवाफ दिने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया