राप्तीमा पानीको सतह घट्याे, बाँकेमा त्रास हट्यो, सतर्कता कायमै

  असार ०४, २०७८

नेपालगञ्ज, असार ४ : अविरल वर्षाका कारण राप्ती नदीमा खतराको विन्दुसम्म पुगेको पानीको सतह घट्दै गएकोले हालका लागि बाँकेमा बाढीको त्रास हटेको छ । दुई दिनअघि राप्ती नदीको पानीको सतह खतराको विन्दु ५ मिटर पार गरेर ५.२ मिटर पुगेकोमा हाल आएर सो सतह घटेर २ मिटर ७७ सेन्टिमिटरमा पुगेपछि अहिलेलाई बाढीको त्रास हटेको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो ।

नदीमा पानीको सतह बढ्दै गएपछि राप्तीसोनारी, डुडुवा र नरैनापुरका तटीय क्षेत्रका बासिन्दामा बाढी र डुबानको अत्याधिक त्रास रहेकोमा हाल नदीको सतह घटेपछि उनिहरुको डर पनि हटेको उहाँले बताउनुभयो । नदीले सतर्कताको विन्दु पार गरेपछि बाँकेको तटिय क्षेत्रका दर्जनौ गाउँ डुवानको उच्च जोखिममा परेका थिए । दाङ, रोल्पा, प्यूठानमा लगातार पानी परेकाले नदीको सतह बढेको थियो । नदीमा पानीको सतह खतराको तहमा पुग्न थालेपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको थियो ।

पानीको सतह बढेपछि अगैयास्थित राप्ती नदीमा बाँधिएको सिक्टा सिँचाईको व्यारेजको सबै ढोका पनि खोलिएको सुचना अधिकृत ज्ञवालीले बताउनुभयो । तर शुक्रवार नदीमा पानीको सतह २.७७ मिटर मात्रै रहेकोले हालका लागि बाढी र डुबानका सबै खतराहरु समाप्त भएको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले जनाएको छ । सो सुचना तटीय क्षेत्रका बासिन्दालाई पनि दिएर उनिहरुलाई आ आफ्नो नियमित काममा लाग्न आग्रह गरिएको समितिले जनाएको छ ।

नदीमा पानी घटेपनि सतर्कता कायमै
राप्ती नदीको सतह घटेर २.७७ मिटर पुगेपछि बाढीको त्रास हटेपनि पुर्व तयारी र उच्च सतकर्ता भने कायमै राखिएको बाँकेका प्रहरी प्रमुख एसपी ओम रानाले बताउनुभयो । उहाँले हालका लागि पानीको सतह घटेर जोखिम टरेपनि अझै वर्षा र मनसुन बाँकीनै रहेकोले जोखिमयुक्त क्षेत्रमा सुरक्षा निकायलाई हाई अलर्टमा तयारी अवस्थामा रहन निर्देशन दिईएको बताउनुभयो ।

सोही बमोजिम स्थानीयलाई पनि सकभर उच्च क्षेत्रमा नै अझै केही दिन रहन आग्रह गरिएको पनि एसपी रानाले बताउनुभयो । जिल्ला विपद प्रतिकार्य योजनामा जोखिमका स्थान भनेर जनाईएका स्थानहरुमा उद्धार र राहातका सामाग्रीसहित रेडक्रस र सुरक्षाका तीनवटै निकायलाई तयारी अवस्थामा राखिएको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया