वर्षाका कारण यार्सा टिप्न गएका ७५ जना अलपत्र, उद्धार प्रयास जारी

  असार ०४, २०७८

काठमाडौं, असार ३ : यार्सागुन्बु टिप्न गएका ७५ जना मनाङको फु क्षेत्रमा अलपत्र परेका छन् । भारी हिमपात र वर्षाका कारण बाढीले बाटो भत्किदा मनाङका ७५ जना स्थानीयबासी अलपत्र परेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताउनुभयो ।

यार्सागुन्बु टिप्न एक महिना अघि त्यस क्षेत्र पुगेका उहाँहरु निरन्तर वर्षा पछि घर फर्कन नसकेको र बाढीले बाटो, पुल भत्काएपछि विचल्लीमा परेकाले तत्काल उद्धार गर्नु जरुरी भएको मनाङका पूर्वसांसद पाल्देन छेपाल गुरुङले जानकारी दिनुभयो । २५ जनाका दरले तीन समुहमा रहेका मध्ये दुई समुह केही सुरक्षित रहेको र बाँकी २५ जना भने तत्काल उद्धार नगरे विपत्ति आइपर्न सक्ने उहाँको बताउनुभयो । विहान सात बजे अल्टिच्युट हेलिकप्टरबाट पाँचजनाको उद्धार गरिएको र बाँकीको भने खराव मौसमका कारण उद्धारमा कठिनाइ भएको गुरुङले जानकारी दिनुभयो ।

विचल्ली भएको क्षेत्र रत्न चुली, लुगुला हिमालको फेदीमा रहेको फु गाउँ आसपास रहेको पुर्वसांसद गुरुङको भनाई छ । यो मनाङको मात्र नभएर चीनसँगको सिमा क्षेत्र रहेकाले अति दुर्गम क्षेत्रमा पर्छ । विचल्लीमा परेकाहरुलाई तत्काल उद्धारका लागि पहल शुरु भएको तर मौसमले साथ नदिदाँ समस्या भएको उहाँले बताउनुभयो । फु क्षेत्र यार्सागुन्बु पाइने मुख्य क्षेत्र मध्ये हेरिने गरिन्छ । गत शुक्रबार नेपाल प्रवेश गरेको मनसुन दुई दिनभित्र देशभर वर्षा सुरू भएकाे छ । 

तपाईको प्रतिक्रिया