मेलम्ची र हेलम्बु क्षेत्रमा भीषण बाढी र पहिरो, केहीलाई बगाएकाे आशंका

  असार ०१, २०७८

काठमाडौं, असार १ : आज परेको बर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा भीषण बाढी र पहिरो गएको छ । मेलम्ची खोलमा आएको बाढीले मेलम्चीको हेडवर्कस निर्माणमा संलग्न चिनियाँ कामदार बसेको मेलम्चीको ड्यामभन्दा करीब तीनसय मिटर तल रहेको क्याम बगाएको छ ।

मेलम्चीमा भीषण बाढी आए पनि राती १० बजेसम्म बाढीले मेलम्ची खानेपानीको ड्याम वा सुरुङलाई कुनै क्षति पुगेको जानकारी प्राप्त नभएको मेलम्ची परियोजनामा कार्यरत निमेश रेग्मीले बताउनुभयो । सुरुङमा परीक्षणका लागि ढोका बन्द गरिएको र ड्याम तथा सुरुङ अनुगमनका लागि राखिएको सीसी क्यामेराहरुले काम गरी रहेको र त्यहाँ कुनै क्षति नदेखिएको उहाँले बताउनुभयो ।

साथै हेलम्बुमा माछा फर्मसगै बाढीले केही मानिस बगाएकाे हुँन सक्ने र उनीहरु सम्पर्कमा नआएकोे सिन्धुपालचोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिनुभयो । अहिले त्यस क्षेत्रमा भएको मानवीय र अन्य भौतिक क्षति बारे बुझने काम भइरहेको उहाँले जानकारी दिनुभयो । उक्त फर्ममा काम गर्ने कामदारलाई बगाएको भन्ने छ तर कति जना बगायो भन्ने बारेमा विवरण संकलनको काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

यसै गरि बाढीले हेलम्बुमा पुल केही होटलहरु पनि बगाएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो । यस बारेमा अझै के–के क्षति भएको छ भन्ने बारेमा स्थलगत डाटा सङ्कलन भइरहेकोले भोलिसम्म क्षतिको विवरण आउने उहाँले बताउनुभयो । यसैगरी बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाकोे बाँधमा बाढीले क्षति गराएकोबारे जानकारी नपाइएको र थप बुझने काम भइरहेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया