सुदूरपश्चिमको बजेट ३० अर्ब ३३ करोड ९४ लाख, स्वास्थ्य र पूर्वाधारमा जाेड

  असार ०१, २०७८

धनगढी, असार १ : सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि ३० अर्ब ३३ करोड रुपियाँकाे बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहले मङ्गलबार प्रदेश सभामा बजेट प्रस्तुत गर्नु भएको हो ।

प्रदेश सरकारले चालूतर्फ १० अर्ब ६६ करोड नौ लाख (३५.१ प्रतिशत) बजेट विनियोजन गरेको छ । यसैगरी, पूँजीगततर्फ १७ अर्ब ६५ करोड ४० लाख ४२ हजार (५८.२ प्रतिशत), अन्तर सरकारी वित्त हस्तान्तरणतर्फ एक अर्ब ७२ करोड ४५ लाख (५.७ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ ३० करोड (१ प्रतिशत) बजेट विनियोजन गरेको छ ।

आन्तरिक राजस्व, नेपाल सरकारबाट राजस्व बाँडफाँडबाट प्राप्त रकम, सङ्घीय सरकारको वित्तीय समानीकरण अनुदान लगायत बजेटको स्रोत रहेको मन्त्री शाहले बताउनुभयो । कोरोना महामारीले अर्थव्यवस्थालाई गम्भीर असर पु-याएको अवस्थामा प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटले स्वास्थ्य, विकास पूर्वाधार, रोजगारी र कृषि क्षेत्रलाई मुख्य प्राथमिकता दिएको छ ।

आगामी आर्थिक वर्षमा कोरोना विरुद्धको खोपको व्यवस्था गर्न, कोरोना महामारी नियन्त्रण तथा आवश्यक उपकरणका लागि आवश्यक बजेट विनियोजन गरेको जनाइएको छ । यसैगरी, मुख्य सीमा नाकाहरुमा हेल्थ डेस्क र होल्डिङ सेन्टरलाई प्रभावकारी बनाइने जनाइएको छ । आगामी वर्षलाई अस्पताल स्तरोन्नति तथा सेवा सुधार वर्षको रुपमा अगाडि बढाउने र सो कार्यका लागि दुई अर्ब ४२ करोड ५८ लाख ९० हजार रुपियाँ बजेट विनियोजन गरिएको छ । यस्तै, महामारी रोग लगायत अन्य रोग व्यवस्थापनलाई उच्च प्राथमिकता दिइने र त्यसको लागि ९७ लाख ५० हजार रुपियाँ बजेट विनियोजन गरिएको छ ।

स्थानीय तहहरुमा आधारभूत स्वास्थ्य भवन निर्माणका लागि एक करोड, कोभिड लगायतका महामारी र सङक्रामक रोग व्यवस्थापनका लागि ९० करोड रुपियाँ बजेट विनियोजन गरिएको छ । सेती अस्तालतामा ट्रमा सेन्टर स्थापना र टीकापुर अस्पताल परिसरमा सरुवा रोग अस्पताल केन्द्र निर्माण गर्नका लागि पाँच करोड रुपियाँ बजेट विनियोजन गरिएको छ । प्रदेशका छ हजार ३७ महिला स्वास्थ्य स्वयम् सेविकाको स्वास्थ्य बीमाको लागि एक करोड पाँच लाख ६५ हजार रुपियाँ बजेट विनियोजन गरिएको छ ।

यसैगरी, जनआन्दोलन र सशस्त्र द्वन्द्वका पीडितको निःशुल्क उपचार, थारु समुदायमा देखिने सिकलसेल एनिमिया, थालासेमिया रोग बिरामीको उपचारका लागि आवश्यक बजेट विनियोजन गरेको जनाइएको छ । स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिका लागि चार करोड २० लाख, प्रदेशमा प्रयोगशाला सुदृढिकरणका लागि एक करोड रुपियाँ बजेट विनियोजन गरिएको छ । जटिल अवस्थाका सुत्केरी र कडा रोगीको हवाई उद्धारका लागि ५३ लाख ३५ हजार, मुख्यमन्त्री ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रमका लागि एक करोड ६० लाख रुपियाँ बजेट विनियोजन गरिएको छ ।

डोटी अस्पताललाई पाँच करोड ३५ लाख, वेदकोट अस्पताललाई पाँच करोड ३५ लाख, लम्कीचुहा सामुदायिक अस्पताललाई आठ करोड ८२ लाख, महाकाली अस्पताललाई पाँच करोड ७५ लाख रुपियाँ बजेट आवश्यक पूर्वाधार निर्माणका लागि उपलब्ध गराइने जनाइएको छ । यसैगरी, जिल्ला अस्पताल अछामको लागि एक करोड ५० लाख, स्वास्थ्य कार्यालय बाजुरा र जिल्ला अस्पताल मार्तडीका लागि पाँच करोड रुपियाँ बजेट विनियोजन गरिएको छ ।

सुदूरपश्चिम प्रदेशलाई आगामी वर्षभित्रै पूर्ण साक्षर प्रदेश घोषणा गर्न आवश्यक बजेट विनियोजन गरएको छ । खेल क्षेत्रको लागि तीन करोड ९० लाख र प्रदेश खेलाडी कोष स्थापनाका लागि बजेट विनियोजन गरिएको छ । क्तमागत, प्रदेश गौरव, रुपान्तकारी र बहुवर्षीय योजनाहरुलाई उच्च प्राथमिकता दिदैं पाँच अर्ब १२ करोड ७३ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ ।

तपाईको प्रतिक्रिया