पाँच पूर्वप्रधानमन्त्रीको अपील : नेपालको आन्तरिक राजनीतिमा बाह्य शक्तिको चलखेल हुन नपाओस्

  जेठ २९, २०७८

काठमाडौँ, जेठ २९ : पछिल्लो विकसित राजनीतिक घटनाक्रमलाई लिएर पाँच पूर्वप्रधानमन्त्रीले नेपालको आन्तरिक राजनीतिमा बाह्य शक्तिको चलखेल नहोस् भन्ने कुरामा सजगता अपनाउनु पर्ने बताउनुभएको छ ।

पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र डा बाबुराम भट्टराईले शनिबार संयुक्त वक्तव्य जारी गर्दै विज्ञप्तिमा नेपालको बारेमा नेपालीले नै निर्णय गर्नुपर्छ र नेपालको आन्तरिक राजनीतिमा वाह्य शक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप एवं चलखेल हुन नपाओस् भन्नेमा सजगताका लागि सबैको ध्यान आकर्षित गर्न चाहेको उल्लेख गर्नुभएको छ ।

‘नेपालमा संवैधानिक व्यवस्था, कानूनी राज्य र लोकतन्त्रका आधारभूत सिद्धान्त एवं मूल्यहरुमाथि भइरहेको उपर्युक्त प्रकारको निरंकुश हमलाका विरुद्ध ऐक्यबद्धता जनाउन हामी नेपाल जनता, नागरिक समाज र सम्पूर्ण लोकतन्त्रवादी शक्तिहरुसँग समेत हार्दिक अपील गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपालको बारेमा हामी नेपालीले नै निर्णय गर्नुपर्छ र नेपालको आन्तरिक राजनीतिमा बाह्य शक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप एवम् चलखेल हुन नपाओस् भन्ने कुरामा सजगताका लागि सबैको ध्यान आकर्षित गर्न चाहन्छौं ।’ प्रधानमन्त्री केपी शर्मा ओलीका गलत क्रियाकलापका कारण देशले अस्थिर र अन्योल ग्रस्त राजनीतिक स्थितिको सामना गरिरहेको ठहर पूर्वप्रधानमन्त्रीहरुको छ ।

विज्ञप्तिमा पाँच पूर्वप्रधानमन्त्रीले कोरोनाविरुद्ध खोपको समुचित व्यवस्था गर्दै निषेधाज्ञाका कारण बन्देजको अवस्थामा विपन्न, श्रमजीवी वर्ग एवं समुदायमा परिरहेको मर्काप्रति संवेदनशील हुन सरकारसँग माग गर्नुभएको छ । कमजोर वर्ग तथा समुदायमा परेकोे रोग र भोकको समस्याको सम्बोधन गर्न आवश्यक कार्ययोजनासहित अग्रसर हुन उहाँहरुले सरकारसँग अनुरोध गर्नुभएको हो । उहाँहरुले संवैधानिक व्यवस्था, कानूनी राज्य र लोकतन्त्रका आधारभूत सिद्धान्त एवं मूल्यमाथि हमला भइरहेको भन्दै त्यसविरुद्ध ऐक्यवद्धता जनाउँदै आज अपिल गर्नुभएको छ ।

संयुक्त विज्ञप्तिमा भनिएको छ “प्रधानमन्त्रीका क्रियाकलापका कारण देशले अस्थिर र अन्योलग्रस्त राजनीतिक स्थितिको सामना गरिरहेको बेला सरकारले घाटा बजेट पूर्ति गर्ने निहँुमा देशका विभिन्न भागबाट ढुङ्गा, वालुवा र गिटी उत्खनन् गरी विदेशमा निकासी गर्ने कार्यक्रम ल्याउनु राष्ट्रहित र जनविरोधी छ ।” उहाँहरुले यस्तो गलत निर्णयबाट अत्यन्त संवेदनशील अवस्थामा रहेको नेपालको भू–बनौटमा असर पर्न गई गम्भीर पर्यावरणीय समस्या सिर्जना हुनेछ उल्लेख गर्नुभएको छ ।

यस्तो छ प्रेस वक्तव्यः

तपाईको प्रतिक्रिया